जनता टाइम्स

३ मंसिर २०८२, बुधबार १२:४८

सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त, वारामा कर्फ्यू जारी


काठमाडौं, मंसिर ३ । बारा जिल्लाको सिमरा विमानस्थल आसपासमा जेन–जी भनिएका युवा र नेकपा एमालेसमर्थित युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय वाराले आज दिउँसै कर्फ्यू आदेश जारी गरेको छ।

स्थिति बिग्रिएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) अनुसार दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यू लागू गरिएको जानकारी दिनुभएकाे छ ।

कर्फ्यू आदेश जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका दुई क्षेत्रमा लागू गरिएको छ । जस अनुसार  गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरभित्र र  सिमरा विमानस्थल आसपास ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागेकाे छ ।

कर्फ्यू अवधिमा अवत–जवत, भेला, सभा, जुलुस वा कुनै पनि प्रकारको प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोगका सवारी तथा हवाई टिकटका यात्रुहरूको आवत–जावतमा भने सुरक्षाकर्मीमार्फत सहजीकरण हुने प्रशासनले जनाएको छ।

वाराको परवानीपुरमा आज एमालेनिकट युवा संघले आयोजना गरेको जागरण सभालाई लिएर तनाव उत्पन्न भएको थियो। सो कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल, जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेस बस्नेत विमानमार्ग हुँदै सिमरा जाँदै हुनुहुन्थ्याे। उहाँहरु सिमरा पुग्ने खबर पाएपछि जेन–जी पुस्ताका भनिएका युवाहरूले विमानस्थल क्षेत्रमा घेराउ गरेका थिए।

एमालेका अच्युत मैनाली, किसान श्रेष्ठलगायतका नेताहरू झडपपछि केही समय विमानस्थलभित्रै रोकिनुभएकाे थियाे।

ढुंगामुढासमेत भएको घटनापछि सुरक्षाकर्मीले विमानस्थल र आसपास क्षेत्रमा कडाइ गरेका छन्। कर्फ्यू जारी भएपछि साे क्षेत्र अधिकांश खाली गराइएको छ र उडानतर्फ पनि अवरोध भएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालयले अवस्था सामान्य हुनासाथ कर्फ्यू फुकुवा गर्ने जनाएको छ। घटनामा भएको क्षति र नियन्त्रण प्रक्रियाको विस्तृत विवरण प्रहरीले अझै सार्वजनिक गरेको छैन।

झडप भएपछि विमानस्थलमा असुरक्षा भएकाे भन्दै काठमाडौंबाट सिमरा उड्न लागेकाे बुद्ध एयरकाे जहाज काठमाडौंमा नै राेकिएकाे छ ।