काठमाडौं, मंसिर ५ । नेकपा एमालेले आफ्नो संगठनलाई थप गतिशील बनाउने उद्देश्यसहित ‘नेसनल भोलेन्टियर फोर्स’ (National Volunteer Force) गठन गरेको छ। पार्टीको जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले फोर्सको औपचारिक घोषणा गर्नु भएकाे हो ।
ढकालका अनुसार नवगठित फोर्सको कमाण्डरका रूपमा पुष्पराज श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। श्रेष्ठ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँले अब फोर्सका गतिविधि सञ्चालन, विस्तार र व्यवस्थापनको नेतृत्व गर्नुहुने छ ।
फोर्सकाे सह–कमाण्डरमा अमित पौडेल र बिनिता काफ्ले रहनु भएकाे छ ।

फोर्समा देशका सबै जिल्लामा संरचना र सदस्य रहने व्यवस्था गरिएको जनसंगठन विभागले जनाएको छ। स्थानीय तहसम्म संगठन विस्तार गरी ‘सामाजिक एवं राष्ट्रिय आवश्यकताका कार्यमा स्वयंसेवकको परिचालन’ मुख्य उद्देश्य राखिएको बताइएको छ।
ढकालका अनुसार, पार्टी सचिवालयको हालै बसेको बैठकले नेसनल भोलेन्टियर फोर्स गठन गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार आज फोर्सको घोषणा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम एमालेर अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएकाे हाे ।

फोर्सले आगामी दिनमा विभिन्न सामाजिक अभियान, ठूलो जनसमूह व्यवस्थापन, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन तथा पार्टीका विभिन्न कार्यगत गतिविधिमा समन्वयकारी भूमिका निर्वाह गर्ने छ ।













प्रतिक्रिया दिनुहोस्