जनता टाइम्स

५ मंसिर २०८२, शुक्रबार १९:४७

पूर्वमन्त्री कृपाशुर शेर्पाको सदस्ता निलम्बन गर्ने  भाेजपुर एमालेको निर्णय 


काठमाडौं, मंसिर ५ ।  नेकपा एमाले भोजपुरले पूर्वमन्त्री कृपाशुर शेर्पामाथि पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै सदस्यता निलम्बन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको जिल्ला सचिवालय बैठकमा अध्यक्ष मक्कर खड्काले प्रस्तुत गर्नुभएको प्रस्ताव अनुमोदन  गरेको हो ।

यसअघि जिल्ला कमिटीले उहाँलाई दुई पटक स्पष्टीकरण सोधेको थियो। तर, शेर्पाले सोधिएको स्पष्टीकरणको औपचारिक जवाफ जिल्ला पार्टीमा नबुझाएपछि सचिवालय बैठकले निलम्बन प्रक्रियालाई अघि बढाएको हो । बैठकमा अध्यक्ष खड्काले नै निलम्बनको निर्णय सार्वजनिक रूपमा सुनाउनुभएको थियो। उहाँलाई ६ महिनाको लागि पार्टी सदस्यताबाट निलम्बन गरिएको छ ।

शेर्पाले फागुन २३ गते आफ्नो फेसबुकमा मोरङ अधिवेशनको विषयमा टिप्पणी गर्दै, ‘मोरङका कमरेडहरूले सचेत भएर निर्णय गर्नुभएको रहेछ, भोजपुरमा जस्तो उधारो पदका लोभमा कोही नफसेकाले खेलाडीको खेल तुहिएको रहेछ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो। उहाँको यही अभिव्यक्ति जिल्ला नेतृत्वप्रति अपमानजनक, कार्यकर्ताको मनोबल गिराउने तथा संगठनभित्र विभाजन उत्पन्न गर्ने प्रकृतिको रहेको भन्दै स्पष्टीकरण मागिएको थियो। तर, शेर्पाले आफू संघीय मामिला तथा केन्द्रीय प्रशासन विभागको सदस्य भएकाले जिल्लाले कारबाही गर्न नमिल्ने बताउँदै स्पष्टीकरण पेश गर्नुभएको थिएन।

भोजपुरमा पूर्वमुख्यमन्त्री एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई र कृपाशुर शेर्पाबीच लामो समयदेखि  अन्तरविराेध रहँदै आएको बुझिएको छ ।  आजको सचिवालय बैठकमा केही सदस्यहरूले कारबाही गर्नेभन्दा पनि नेताहरूबिचको मतभेद मिलाएर साझा कार्ययोजना बनाएर अघि बढ्न सके जिल्लामा कमजोर भएको संगठनात्मक साख पुनः उकासिने सुझाव पनि राख्नुभएको थियो। तर शेर्पाले संगठनकाे नियमलाई मिचेपछि कारबाही गरिएको हो ।