जनता टाइम्स

८ मंसिर २०८२, सोमबार १२:०५

विद्यालय र बस्तीलाई नै प्रभाव पार्ने गरी क्रसर स्थापना, स्थानीयद्वारा विरोध, स्थानीय तह भन्छ- हामीले अनुमति दिएकाे छैन


रामेछाप, मंसिर ८ । रामेछापको सुनापति गाउँपालिका–४ बेथान डहुमा स्थानीय तहसँग कुनै समन्वय र स्वीकृति नलिई एउटा क्रसर उद्योग सुरु भएपछि विवाद चर्किएको छ ।

बेथानको डहुमा विद्यालय र बस्तीलाई समेत प्रभाव पर्ने गरी सो कारखाना स्थापना भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्येको एक डहु मावि नजिकै स्थापना भएको सो क्रसर उद्योगले उडाउने धुलो र ध्वनि प्रदूषणले पठनपाठन प्रक्रियामा समेत प्रभाव परेको छ । क्रसरको कारण गाउँले समेत प्रभावित भएका स्थानीयको गुनासो छ ।

सडकको आवश्यक निर्माण सामाग्रीको लागि भनेर स्थापना गरिएको भनिए पनि सो क्रसर स्थापना गर्न गाउँपालिकासँग कुनै अनुमति लिइएको छैन । गाउँपालिकासँग अनुमति नै नलिई क्रसर सञ्चालन गर्दा पनि गाउँपालिकाले चासो नदिएको भन्दै स्थानीयले गाउँपालिकासँग समेत गुनासो गरेका छन् । तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले क्रसर स्थापना गर्नु अघि वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन गरी वातावरणीय हिसाबले उद्योग सञ्चालन गर्न उचित भएको अवस्थामा गाउँपालिकाले अनुमति दिन सक्ने भए पनि सो उद्योग स्थापनाको लागि वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कुनै पनि कागजात गाउँपालिकामा नआएको बताउनुहुन्छ । त्यसैले गाउँपालिकाले उद्योग सञ्चालनको लागि कुनै स्वीकृति नदिएको उहाँले जानकारी दिनुभयो ।

‘यस विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परिसकेको छ, त्यस विषयमा प्रशासनले छानबिन गरी कारबाही अघि बढाउँछ, हाम्रो तर्फबाट कुनै अनुमति दिएका छैनौँ, स्थानीय तहसँग अनुमति नलिई सञ्चालन गरिएको सो उद्योग अवैध हो’, उहाँले भन्नुभयो ।