जनता टाइम्स

८ मंसिर २०८२, सोमबार १७:३५

भदाै २३-२४ को घटना लोकतान्त्रिक राजनीति विरुद्धको आक्रमण, प्रतिनिधिसभा विघटन असंवैधानिक र नागरिक सर्वोच्चतामाथिको प्रहार : एमाले वाग्मती प्रदेश 


काठमाडौं, मंसिर ८ ।  नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीको  आइतबार सम्पन्न पाँचौँ पूर्ण बैठक बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।

प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षता र प्रदेश इन्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा ललितपुरमा सम्पन्न  बैठकले हालै भएका राजनीतिक घटना, आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो विषयमा विस्तृत अवधारणापत्र पारित गरेको छ । बैठकले भदौ २३ गते सामाजिक सञ्जाल अवरोध हटाउने र भ्रष्टाचार अन्त्यको मागसहित भएको आन्दोलन तथा भदौ २४ गतेको विध्वंसकारी घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै त्यस क्रममा भएको जनधन र सार्वजनिक सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवा प्रति बैठकले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैठकद्वारा व्यक्त गरिएको प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

जेनेरेशन–जेडको नाममा भएको आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवासलगायत देशभरका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएका तोडफोड र आगजनी घटनाको बैठकले कठोर शब्दमा निन्दा गरेको छ। दोषी पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न बैठकले सरकारसँग माग गरेको छ।

वाग्मती प्रदेशको संसद् भवन, मुख्यमन्त्री कार्यालय, ६ वटा मन्त्रालय र विभिन्न सरकारी कार्यालयमा गरिएका आगजनी घटनामाथि बैठकले विशेष ध्यानाकर्षण गराउँदै यस्ता घटनाले संघीय संरचना र प्रशासनिक सेवा प्रवाहमा गम्भीर असर पार्ने बताएको छ। प्रदेशका संवैधानिक संरचना र भवनहरूमा आक्रमण हुनु लोकतान्त्रिक चरित्र विपरीत रहेको उल्लेख गर्दै बैठकले अपराधीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन जोड दिएको छ।

नेकपा (एमाले) पार्टीका कार्यालयहरू र नेताहरूका निजी घरहरूमाथि गरिएका तोडफोड तथा आगजनी घटनाप्रति पनि बैठकले गम्भीर आपत्ति जनाउँदै तत्काल छानबिन र कडा कारबाहीको माग गरेको छ। यस्ता आक्रमणहरू नियोजित ढंगले गरिएका हुनसक्ने आशङ्कासहित पार्टी संरचनामाथि भएको चोटलाई बैठकले ‘लोकतान्त्रिक राजनीति विरुद्धको आक्रमण’ को रूपमा व्याख्या गरेको छ।

बैठकले हालको राजनीतिक अवस्थाबारे चर्चा गर्दै प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक कदम’ र ‘नागरिक सर्वोच्चतामाथिको प्रहार’ को रूपमा चित्रित गरेको छ। बैठकले संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक–गणतान्त्रिक व्यवस्था ‘चीरहरण गरिएको’ भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ ।

यसैबिच, बैठकले मंसिर ६ गते काठमाडौंमा आयोजित प्रतिगमनविरुद्धका जनप्रदर्शनमा सहभागी जनसमुदाय प्रति धन्यवाद व्यक्त गरेको छ। वडा, पालिका र जिल्ला तहमा देखिएको उत्साह, प्रतिबद्धता र सहभागिता पार्टी संगठनका लागि उत्साहप्रद रहेको बैठकको निष्कर्ष छ।

गत कात्तिकमा परेको अविरल वर्षाका कारण धान र कोदो बालीमा पुगेको ठुलो क्षतिप्रति बैठकले चिन्ता व्यक्त गर्दै प्रभावित किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। बैठकले यसलाई कृषि अर्थतन्त्रमै असर पार्ने प्रकारको क्षति भएको मूल्याङ्कन बैठकले गरेको छ ।

बैठकले प्रदेश कमिटीका सदस्यहरूको परिवारमा हालसालै भएका निधनप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ।