मकवानपुर, मंसिर ९। नेपाली कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरमा संगठनगत असन्तुष्टि र आन्तरिक विद्रोह सतहमा देखिएको छ ।
सो पार्टीका जिल्ला कमिटीका उपसचिव कविन पन्तलाई पार्टीले साधारण सदस्यताबाट समेत हटाएपछि जिल्लामा नेतृत्वप्रति चर्को असन्तुष्टि सार्वजनिक रूपमा प्रकट भएको छ। मंसिर ९ गते बसेको जिल्ला सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष ध्रुवबहादुर भुजेलले पन्तले लगातार तीनभन्दा बढी बैठक बहिष्कार गरेको, सामाजिक सञ्जालमा पार्टी तथा नेता–कार्यकर्ताको मर्यादा हानि हुने अभिव्यक्ति गरेको र पार्टी विधानको धारा १२० मा उल्लिखित अनुशासन विपरीत गतिविधि दोहोर्याएको भन्दै कारबाही गरिएको जानकारी दिनुभएको छ। भुजेलद्वारा जारी पत्रमा विधानको धारा १२१ (२) अनुसार उपसचिव पदसहित पार्टी सदस्यता नै फुकुवा गरिएको उल्लेख छ।
पन्तमाथिको कारबाहीसँगै जिल्लामा बढ्दै गएको असन्तुष्टि थप प्रष्ट रूपमा देखिन थालेको छ। पार्टीमा लामो समयदेखि बैठक अनियमित, संवादहीनता बढ्दो र नेतृत्व–केन्द्रित निर्णय प्रक्रियाप्रति कार्यकर्ता नकारात्मक बन्दै गइरहेका थिए। आफ्नै कार्यकर्ताको आलोचना सुन्न नसक्ने प्रवृत्तिले आज यस्तो स्थिति आएको कार्यकर्ताहरुकाे भनाइ छ ।
पन्त नजिकका कार्यकर्ताहरूले उहाँको सामाजिक सञ्जालका अभिव्यक्तिलाई ‘सुधारका लागि आवश्यक चेतावनी’ का रूपमा व्याख्या गरेका छन्। तर नेतृत्वले त्यसलाई ‘अनुशासनहीनता’ ठहर गरेको छ। पन्तले उठाएका संगठन विस्तार, जनसंगठनको निष्क्रियता, नेतृत्वको जबाफदेहिता जस्ता विषयहरूलाई धेरैले वास्तविक समस्या बताए पनि पार्टी भित्रबाट त्यसबारे खुलेर बहस हुन नसकिरहेको स्थानीय तहका कार्यकर्ताहरू बताउँछन्।
जिल्ला कमिटीले गरेको निर्णय ‘अनुमोदनका लागि’ भन्दै वाग्मती प्रदेश कमिटीमा पठाइएको छ। तर निर्णय सार्वजनिक भइसकेपछि प्रदेश नेतृत्वको मौनता र अनिश्चित प्रतिक्रियाले असन्तुष्टि झनै गहिरिँदै गएको छ।
पार्टीभित्रका कतिपय नेताहरूले हालको कारबाहीलाई ‘अनुशासन कायम गर्ने कदम’ भनेका छन्। तर धेरैका अनुसार, असन्तुष्टिको मूल कारण नेतृत्वले यथार्थ आवाज सुन्न नसक्नु, संगठनगत कमजोरी स्वीकार नगर्नु र आलोचनालाई प्रतिशोधका रूपमा लिनु हो। मकवानपुरमा देखिएको घटना त्यसैको अभिव्यक्ति मात्र हो।
कविन पन्तको निष्कासनले पार्टीभित्रको आन्तरिक द्वन्द्व समाधान होला वा झनै चर्को रूप लिनेछ—यो प्रश्न अहिले खुलै छ। तर पन्तमाथिको कारबाहीले मकवानपुरमा चलिरहेको असन्तुष्टि अब खुलेर सतहमा आएकामा भने कुनै द्विविधा बाँकी छैन। यो कारबाहीले माओवादीसँग माधव नेपालले पार्टी एकता गरे पनि मकवानपुरको पार्टी पङ्क्ति विद्रोहमा उत्रिन सङ्केत दिएको छ ।














प्रतिक्रिया दिनुहोस्