जनता टाइम्स

९ मंसिर २०८२, मंगलवार २२:१६

रामेछापको उमाकुण्डमा एकीकृत घुम्ती सेवा शिविर, सात वडाका स्थानीले एउटै स्थानबाट पाए विविध सेवा


रामेछाप, मंसिर ९ । रामेछापको उमाकुण्ड गाउँपालिकामा स्थानीय बासिन्दालाई विभिन्न सरकारी सेवा एकै स्थानबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको एक हप्ते एकीकृत घुम्ती सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

मंसिर २ गते वडा नं. १ गुम्देलबाट सुरु भएको शिविर मंसिर ८ गते वडा नं. ७ भूजीमा पुगेर समापन भएको हो। सातै वडामा आयोजना गरिएको उक्त शिविरमा नागरिकले प्रशासनिकदेखि पशु सेवासम्मका विविध सेवा एउटै स्थानबाट प्राप्त गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिनुभयो।

उहाँका अनुसार शिविरमार्फत २ सय ६८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र, २ सय ७९ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गर्नुभएको छ। यसका साथै ३ सय ९९ जनाको राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन गरिँदा ४७ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको छ।

अपाङ्गता परिचयपत्र (ख वर्ग) १ जनाले प्राप्त गर्नुभएको छ भने ४ व्यवसाय दर्ता, २ व्यवसाय खारेजी र ३८ व्यवसाय नवीकरण भएका छन्। शिविरकै माध्यमबाट चालु आर्थिक वर्षमा कार्यान्वयन हुने ५६ वटा योजनाको सम्झौता पनि गरिएको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताउनुभयो।

राजश्व तर्फ १ लाख ३ हजार ५ सय रुपैँया राजश्व सङ्कलन गरिएको छ। पशु सेवा शाखाले १ सय ७४ घरमा रहेका करिब ११ हजार ३ सय ५६ पशुमा औषधि वितरण गरेको छ भने १ सय ६८ घरका पालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो।

एकीकृत घुम्ती सेवा शिविरले विशेष गरी दुर्गम वडाका स्थानीयवासीलाई आवश्यक सरकारी सेवा सहज रूपमा प्रदान गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो। उहाँले दुर्गम बस्तीमा प्रशासनिक सेवा पुर्याउनेगरी गरिएको प्रयासले स्थानीय तह र नागरिकको सम्बन्ध अझ नजिकिएको बताउनुभयो ।