काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको आज उच्च अदालत तुलसीपुर बुटवलमा तोकिएको पेसी पुनः स्थगित भएको छ। लामिछानेकै कानुन व्यवसायीले बिहीबार दोस्रो पटक सुनुवाइ स्थगनको माग गरेपछि तीन नम्बर इजलासमा तय गरिएको आजको सुनुवाइ रोकिन पुगेको हो।
उच्च अदालतमा यी मुद्दा छैटौँ पेशीमा पुगेका छन्। पाँचौँ पेशीपछि सुनुवाइ लामिछानेकै कानुन व्यवसायीको निवेदनमा सुनुवाई रोकिएको थियो भने आजको छैटौँ पेशीमा पनि लामिछानेका कानुन व्यवसायीको निवेदनकै कारण स्थगन भएको हो। आजको मुद्दा न्यायाधीश मिलन राई र सानुमैया डङ्गोलको बेञ्चमा तोकिएको थियो।
लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्ध दर्ता भएको यो मुद्दा बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा आधारित छ। बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने मागसहित दुवै पक्षले जमानत निवेदन पेस गरेका थिए। तर, दुवैको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएकाले जिल्लादेखि उच्च अदालतसम्म रिहा गर्न नमिल्ने निर्णय हुँदै आएको छ।
यसअघि कात्तिक २० गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएपछि पेशी तोकिए पनि दोस्रो दिन नै लामिछाने पक्षले सुनुवाइ रोक्ने निवेदन दिएको थियो। कात्तिक १३ गतेको पेशी पनि सहअभियुक्त जोशीका कानुन व्यवसायीको निवेदनमा स्थगित भएको थियो।
सुप्रिम सहकारी ठगी मुद्दामा अभियोगपत्रले रवि लामिछाने, छविलाल जोशीसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैङ्क जमानत पेश गरेका थिए। जोशीले पनि उस्तै जमानत पेस गरेका छन्। तर, प्रतिवादीहरूको वास्तविक बिगो हिस्सा निर्धारण नभएसम्म रिहा गर्न नसकिने अदालतको अडान छ।
लामिछाने भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएका छन् भने जोशी भैरहवामै रहेका छन्। हालसम्म छविलालका कानुन व्यवसायीले एक पटक र रविका कानुन व्यवसायीले दुई पटक सुनुवाइ स्थगनको निवेदन दिएका छन्।













प्रतिक्रिया दिनुहोस्