जनता टाइम्स

११ मंसिर २०८२, बिहीबार २०:४५

ईश्वर पोखरेललाई महेश बस्नेतको सुझाव : आजको प्रश्न कसले नेतृत्व दाबी गर्छ भन्ने होइन, कसले पार्टी बचाउन सक्छ भन्ने हो


काठमाडौं, मंसिर ११ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरङ्ग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको टिप्पणी गर्नुभएको छ।

पार्टी आन्तरिक तथा बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा यस्तो कदमले संगठन कमजोर बनाउन उहाँको धारणा छ। ‘आजको प्रश्न कसले नेतृत्व दाबी गर्छ भन्ने होइन, कसले पार्टी बचाउन सक्छ भन्ने हो’, उहाँको धारणा छ ।

राष्ट्रिय राजनीति निर्णायक मोडमा पुगेको, भू–राजनीतिक उतारचढाव तीव्र बनेको र विदेशी–स्वदेशी शक्तिहरूले एमाले तथा अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर प्रहार गरिरहेको परिस्थितिमा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता नै आवश्यक रहेको उहाँको भनाइ छ ।उहाँका अनुसार ‘प्रपोगाण्डा र गलत सूचनाहरू मार्फत पार्टीलाई कमजोर बनाउने प्रयास दोहोरिन नदिन एकता, अनुशासन र संगठनको दृढता अपरिहार्य छ।’

पोलिटब्युरो सदस्य बस्नेतले अध्यक्ष ओलीकै दृढ नेतृत्वमा मात्र पार्टीलाई सही कार्यदिशामा अघि बढाउन सकिने उहाँको दाबी छ ।  ‘पार्टीलाई अहिले मजबुत संगठन, सही कार्य दिशा र जुझारु सशक्त क्रान्तिकारी पङ्क्ति चाहिन्छ, जुन केपी ओलीकै दृढ नेतृत्वमा सम्भव छ’,  बस्नेतको भनाइ छ ।

एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र संगठनको दृढताबाट मात्र सम्भव  हुने उहाँको धारणा छ । ‘पोखरेलजस्ता नेता एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो, पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ-स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले’, उहाँको भनाइ छ ।

बस्नेतले व्यक्तिगत आकाङ्क्षा कहिल्यै पार्टीभन्दा ठुलो नहुने बताउँदै योगदान गर्न सकिए निसर्त एकता र नसकिए सहर्ष बिदाइ नै उचित विकल्प हुने टिप्पणी गर्नुभएको छ। राष्ट्रिय शक्ति निर्माणको आधार पनि अध्यक्ष ओली नेतृत्वमा एकजुट भएको एमाले नै भएको बस्नेतको बुझाइ छ ।

बस्नेतले एमाले बलियो बन्न सके मात्र देश बलियो बन्ने उल्लेख गर्दै अध्यक्ष ओलीको पहल र व्यवस्थापनमा कम्युनिष्ट आन्दोलन र पार्टीलाई मजबुत बनाउन सकिने निष्कर्ष प्रस्तुत गर्नुभएको छ।