जनता टाइम्स

१४ मंसिर २०८२, आईतवार २१:२५

नेपालको वर्तमान आर्थिक अवस्था : चुनौती, अवसर र अबको बाटो


– बालकृष्ण शिवाकाेटी –

नेपाल हाल आर्थिक रूपान्तरणको संवेदनशील मोडमा उभिएको छ। दशकौँदेखि बेहोर्दै आएका संरचनागत कमजोरी, राजनीतिक अस्थिरता, कोभिड–१९ पछि घट्दो बजार–विश्वास, अन्तर्राष्ट्रिय आर्थिक मन्दीको प्रभाव र तीव्र गतिमा बिदेसिने श्रमशक्ति, जेनजी आन्दोलनको नाममा भएका ध्व‌ंसात्मक गतिविधि लगायतले अहिलेको आर्थिक अवस्थालाई थप जटिल बनाइदिएको छ।

यति सबै चुनौतीबिच पनि नेपालको आर्थिक आधार जरा–स्तरमै कमजोर भने होइन। सुधार र पुनरुत्थानका प्रशस्त सम्भावना अझै जीवित छन्।  यसका लागि स्पष्ट दिशा, स्थिर नीतिगत वातावरण र राज्य, निजी क्षेत्र तथा वित्तीय क्षेत्रबिचको व्यवहारिक समन्वय आवश्यक छ । त्यो भन्दा बढी केही गरौँ र गर्न सकिन्छ भन्ने इच्छाशक्ति अझ धेरै जरुरी छ ।

यस लेखमा अहिलेको आर्थिक चुनौतीदेखि उपलब्ध अवसर र अघि बढ्ने व्यावहारिक मार्गसहित विस्तृत विश्लेषण प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

१. नेपालको आर्थिक अवस्थाको वास्तविक चित्र : दुई छेउले तानिएको अर्थतन्त्र

नेपालको अहिलेको आर्थिक अवस्थालाई केवल ‘सङ्कट’ शब्दले व्याख्या गर्न सकिँदैन। यो अवस्था एकातिर घट्दो उत्पादन, खुम्चिँदो बजार माग, घटेको राजस्व, कर्जा प्रवाहमा कडाइ र रोजगार सिर्जनामा ठप्पपनले ग्रस्त छ। अर्कोतिर पर्यटन, डिजिटल कारोबार, सेवा–क्षेत्र र केही अवयवहरूले बजारमा सुधारका सङ्केत पनि देखिन थालेका छन्।

कृषि, उद्योग र निर्माण क्षेत्रको कमजोर प्रदर्शनले सरकारी राजस्व, बैङ्किङ कर्जा–प्रवाह, रोजगारी र व्यापार सन्तुलनजस्ता महत्त्वपूर्ण सूचकहरूमा प्रत्यक्ष असर पारेको छ। अर्थतन्त्र सुस्त गतिमा अघि बढिरहेको मात्र होइन, अहिलेको अवस्थाले ‘सुरुङभित्र रोकिएको रेल’ जस्तै सुस्तता झल्काएको छ।

यस अर्थतन्त्रलाई पुनर्जीवन दिन अल्पकालीन आकस्मिक उपाय र दीर्घकालीन नीतिगत स्थिरता दुवै अपरिहार्य छन्।

२. उद्योग–व्यवसायको यथार्थ : जटिलता, जोखिम र खुम्चिँदो आत्मविश्वास

उद्योग–व्यवसाय गर्ने वातावरण अहिले सहज छैन। कच्चा पदार्थ, ढुवानी, ऊर्जा र श्रम–लागतको वृद्धि, बजारमा घट्दो माग, अनिश्चित कर–व्यवस्था र नियमन, बैङ्किङ कर्जामा बढ्दो कडाइ, तथा विदेशी प्रतिस्पर्धाका कारण उद्योगी–व्यवसायी निरन्तर दबाबमा छन्। अझ व्यसायीक असुरक्षा थप चुनौतीको रूपमा देखिएको छ ।

उत्पादन लागत बढेकै कारण धेरै उद्योगले उत्पादन घटाएका छन्, कतिपयले कर्मचारी कटौती गरेका छन् र नयाँ लगानी गर्ने मनोबल कमजोर हुँदै गएको छ। ग्राहकको खर्च–क्षमता कमजोर हुँदा बजार विस्तार सम्भव छैन। आयात–निर्भर अर्थतन्त्रले घरेलु उद्योगलाई प्रतिस्पर्धा गर्नै नसक्ने स्थितिमा पुर्याएकाे छ ।

यो अवस्थाले सरकारको कर–आम्दानीदेखि बैङ्कको कर्जा–उपभोग र श्रमबजारसम्म सबैलाई प्रभावित बनाइरहेको छ।

३. बैङ्क तथा वित्तीय संस्थासँगको सम्बन्ध : भरोसाको सङ्कट र सुधारका सङ्केत

अर्थतन्त्रका दुई महत्त्वपूर्ण स्तम्भ बैङ्क र व्यवसायी एक–अर्काका पूरक भए पनि पछिल्ला वर्षहरूमा दुबैबिच विश्वास कमजोर हुँदै गएको छ। तरलता तनाव, ब्याजदरको अनिश्चितता, धितो मूल्याङ्कनमा कडाइ, कर्जा पुनर्संरचनामा ढिलाइ आदिले व्यवसायीहरू ‘जोखिम’ भन्दा बढी ‘भय’ मा धकेलिएका छन्।

डिजिटल बैङ्किङ विस्तार, वित्तीय पारदर्शितामा सुधार, नियमन स्पष्ट हुँदै जानु जस्ता सकारात्मक सङ्केतहरूलाई बेवास्ता गर्न मिल्दैन। तर आर्थिक स्थिरता तब मात्रै सम्भव हुन्छ जब सरकार, बैङ्क र निजी क्षेत्र एउटै नीतिगत तालमेलमा अघि बढ्छन्।

४. नीतिगत पक्षको समीक्षा : निजी क्षेत्रले अपेक्षा गरेको स्थिरता

नीतिले अर्थतन्त्रलाई दिशा मात्र होइन, आत्मविश्वास पनि दिन्छ। तर पछिल्ला वर्षहरूमा कर–व्यवस्थामा अनिश्चितता, नियम–निर्देशनको अस्पष्टता, व्यवसायीमाथिको अनावश्यक निरीक्षण, तथा दीर्घकालीन आर्थिक दृष्टिकोणको अभावले बजारमा ‘अनिश्चितता र अविश्वास’ बढाएको छ।

यद्यपि सरकारका केही सकारात्मक कदम, सार्वजनिक–निजी साझेदारी नीति, उद्योग–मैत्री कर–छुट, स्टार्टअप नीतिको विस्तार, ब्याज अनुदान कार्यक्रमले केही राहत दिएको छ। यिनै कदमलाई दिगो नीति–ढाँचामा रूपान्तरण गर्न सके मात्रै आर्थिक स्थिरता सम्भव छ

५. अहिले देखिएको आर्थिक चुनौतीका गहिरा संरचनागत कारण

नेपालको आर्थिक सङ्कट सतही होइन, गहिरो संरचनागत हो। प्रशासनिक ढिलासुस्ती, उत्पादनमुखी लगानीको कमी, युवा शक्ति बिदेसिने दर, औद्योगिक पूर्वाधारको कमजोरी, प्रतिस्पर्धी क्षमता नबढ्नु, मूल्य वृद्धि नियन्त्रणमा कमजोरी, तथा नियमनात्मक निकायहरूको प्रभावहीनताले दीर्घकालीन आर्थिक सुधार अवरुद्ध बनाइरहेको छ। यी समस्या समाधान नगरी अर्थतन्त्रमा ‘स्थायित्व’ ल्याउन सम्भव छैन।

६. अघि बढ्ने बाटो : व्यवहारिक, नीतिगत र संरचनागत समाधान

आर्थिक पुनरुत्थानका लागि नेपालले अब अत्यावश्यक रूपमा अपनाउनुपर्ने उपायहरू अर्को चरणमा प्रवेश गर्नुपर्छ। नीतिगत स्थिरता सुनिश्चित गर्दै कर–दर पाँच–दश वर्षका लागि स्थिर राख्ने, कर्जा नीतिलाई पूर्वानुमेय बनाउने तथा व्यवसायमैत्री कानुनलाई छिटो कार्यान्वयन गर्ने आवश्यकता छ।

बैङ्किङ क्षेत्रमा ब्याजदर स्थिरता, MSME र स्टार्टअप उद्देश्यका लागि विशेष कर्जा र कर्जा पुनर्संरचनालाई सरल र छरितो बनाउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ।

उद्योग तथा उत्पादन क्षेत्रमा आयात–प्रतिस्थापन उद्योगलाई कर–छुट, निर्यात–मुखी उत्पादनलाई प्रोत्साहन, कृषि र ऊर्जामा स्वावलम्बन, तथा औद्योगिक पार्क, प्रसारण लाइन, ढुवानी व्यवस्था र डिजिटल पूर्वाधारमा ठुलो लगानी आवश्यक छ।

युवा शक्तिलाई दक्षतापूर्ण बनाई उपयोग गर्न सीप–तालिम, नवप्रवर्तन केन्द्र, डिजिटल उद्यमशीलता र स्टार्टअप अनुदान कार्यक्रमले निर्णायक भूमिका खेल्न सक्छ। अन्ततः सरकार, निजी क्षेत्र र बैङ्कबिच त्रिपक्षीय साझेदारी नै दीर्घकालीन विश्वास–निर्माणको आधार हो।

७. सङ्कटभित्रै अवसर  

नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा छ। तर यो निराशाको समय होइन, पुनरुत्थान र दिगो विकासतर्फ उभिन सकिने निर्णायक अवसर पनि यही क्षणमा छ। निजी क्षेत्रको सम्भावना, बैङ्कहरूको संरचनागत क्षमता, युवा पुस्ताको ऊर्जा र राज्यको नीति–निर्देशन यदि एउटै दिशामा प्रवाहित भयो भने नेपाल ‘सम्भावनाको अर्थतन्त्र’ बाट ‘उत्पादनमुखी, स्थिर र समृद्ध अर्थतन्त्र’ तर्फ रूपान्तरण हुन धेरै समय लाग्दैन।

स्थिर नीति, सकारात्मक कार्यशैली, दीर्घकालीन दृष्टिकोण र विश्वासमा आधारित सहकार्य-यही हो आर्थिक पुनर्जागरणको मूलमन्त्र।

नेपाल अब एक निर्णायक मोडमा छ । सङ्कटलाई अवसर बनाउने कि अवसरलाई फेरि संकटमा बदल्ने ?  निर्णय यही पुस्ताले गर्नेछ।

(लेखक नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघकाे महासचिव हुनुहुन्छ)