जनता टाइम्स

१५ मंसिर २०८२, सोमबार २२:१६

पार्टी अध्यक्षमा केपी ओलीका विरुद्ध चुनाव लड्नेले  २ सय भोट पनि कटाउँदैन : सूर्य थापा 


भैरहवा, मंसिर १५ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले  पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अघि बढ्ने स्पष्ट धारणा राख्नुभएको छ ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले  अध्यक्ष ओलीको विकल्प खोज्ने कुरा अहिलेको परिस्थितिमा असम्भव रहेको बताउँदै पार्टीभित्र देखिएको असन्तुष्टिपूर्ण मोर्चाबन्दीलाई निष्प्रभावी बनाइने दाबी गर्नुभयो ।  एमालेलाई कमजोर पार्ने प्रयास विगतदेखि भइरहे पनि त्यो कहिल्यै सफल नहुने थापाले बताउनुभयो ।  ‘विगतमा पनि एमाले फुटाएर को बलियो हुन नसकेको इतिहास छ, अहिले पनि त्यसले परिणाम दिँदैन, अहिलेको समय नेतृत्व र पार्टीको संरक्षण गर्ने समय हो, त्यसैले अध्यक्ष ओलीको विकल्प खोज्ने प्रश्न नै उठ्दैन’,  उहाँले भन्नुभयो ।

थापाले पार्टीभित्र अध्यक्ष ओलीविरुद्ध भइरहेको मोर्चाबन्दी क्षीण हुँदै गरेको दाबी गर्दै त्यसलाई पूर्ण रूपमा निस्तेज बनाइने बताउनुभयो । उहाँका अनुसार एमाले भित्र अध्यक्ष ओलीलाई टक्कर दिन सक्षम कुनै नेतृत्व अहिले देखिँदैन । ‘ईश्वर पोखरेलज्यूले पनि परिस्थिति बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘देशभित्र र बाहिरका शक्ति केन्द्रहरूसँग बहस गर्न सक्ने व्यक्तिलाई नै सर्वसम्मत रूपमा नेतृत्वमा चयन गर्न आवश्यक छ ।’

थापाले यसअघि महाधिवेशनमा अध्यक्षका प्रत्याशी बनेका भीम रावलबाट मात्र दुई सय मत प्राप्त भएको उदाहरण दिँदै यस पटक त्यस्तो अवस्था समेत नभएको बताउनुभयो । ‘यस पटक अध्यक्ष ओलीका विरुद्ध उठ्ने जो कोहीले त्यस भन्दा पनि कमजोर अवस्था बेहोर्नुपर्नेछ’, थापाले भन्नुभयो ।

पार्टीभित्र सक्रिय रूपमा बोल्नुभन्दा मौन बस्ने प्रवृत्ति बढ्नु एमालेको भविष्यमै चुनौती बन्न सक्ने थापाको भनाइ छ । अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य मौन बसेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘अहिले पार्टीको पक्षमा खुला रूपमा बोल्ने नेताहरू औँलामा गनिने छन्,’ थापाले भन्नुभयो, ‘मौनता साँधेर पार्टी अगाडि बढाउन सकिँदैन ।’

थापाले पार्टीलाई सक्रिय, प्रतिबद्ध र स्पष्ट धारणा राख्ने नेतृत्व चाहिएको बताउनुभयो । ‘मौनता साँध्नेहरू ढुङ्गा हुन्, ती मूर्ति बनाउन त काम लाग्लान्, तर नेतृत्वका लागि उपयुक्त हुँदैनन्,’ उहाँले टिप्पणी गर्नुभयो ।

थापाले एमाले मूलधारको सशक्त शक्ति भएकाले केही समूह चौटिए वा नेताहरू अलग्गिए पनि पार्टीप्रति ठुलो प्रभाव नपर्ने धारणा राख्नुभयो ।

थापाले पछिल्लो समय देखिएको जेनजी आन्दोलन ‘डिजाइन’ अनुसार सञ्चालित भएको आरोप लगाउँदै वास्तविक जेनजी युवाहरूले आगजनी र तोडफोडजस्ता हिंसात्मक क्रियाकलाप नगरेको दाबी गर्नुभयो । सिंहदरबार र सर्वोच्च जस्ता ऐतिहासिक संरचनाहरूमा आगजनी गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने थापाको जोड थियो ।

उहाँले आफूहरूले निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै कानुन विपरीतबाट राज्यका संवेदनशील संरचनामाथि आक्रमण गर्नेहरूलाई दण्डित गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।