जनता टाइम्स

१५ मंसिर २०८२, सोमबार २३:११

रामेछापको उमाकुण्डमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


रामेछाप, मंसिर १५ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। वडा नं. ३ कुँभुकाँस्थलीस्थित धोबीटार खेलमैदानमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका सबै ७ वटै वडाका ७ माविबाट २ सय ४२ जना विद्यार्थी (छात्र–छात्रा) ले १२ विधाका विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की, साथै ७ वटै वडाका वडा अध्यक्षहरू,  प्रधानाध्यापक, खेल शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो।

प्रतियोगिताले उमाकुण्ड गाउँपालिकामा रहेका विद्यार्थीको प्रतिभा उजागर गर्न, खेलकुदप्रतिको रुचि बढाउन तथा विद्यालयहरूबिच स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले जनाएको छ।