रामेछाप, मंसिर १७। मन्थली नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस मनाएको छ। नगरप्रमुख लब श्रेष्ठको अध्यक्षतामा तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरले अहिलेसम्मका उपलब्धि र आगामी योजनाको विस्तृत प्रस्तुति गरिएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले नगरपालिकाले पछिल्लो दशकमा सम्पन्न गरेका कार्य तथा आगामी वर्षहरूको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार पूर्वाधार निर्माण, उज्यालो सहर कार्यक्रम, विस्तृत आयोजना प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा अघि बढाइएका परियोजनाहरू, सरसफाइ तथा फोहोर व्यवस्थापनजस्ता महत्त्वपूर्ण कामहरू नगरले निरन्तर अघि बढाउँदै आएको छ।
नगरपालिकाले कानुन निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रका सुधार, कृषि तथा पशुपालनमा अनुदानका कार्यक्रम, उद्यम विकास र आयआर्जन प्रवर्द्धनजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति गरेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो। दिगो विकास लक्ष्य अनुरूप विषयगत योजना निर्माण, बाँझो जग्गाको सदुपयोग, दूध, मासु र तरकारी उत्पादनमा आत्मनिर्भर नगर बनाउने उद्देश्य, आधुनिक वडा कार्यालय भवन निर्माण तथा सबै वडामा कालोपत्रे सडक पुर्याउने लक्ष्य नगरले आगामी कार्यदिशाका रूपमा अघि सारेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि आनन्द श्रेष्ठले नगरको उपलब्धि तथा भावी योजनाको प्रशंसा गर्दै आवधिक योजनालाई आधार मानेर नयाँ पहलहरू जोड्दै नगर अघि बढिरहेकोमा धन्यवाद दिनुभयो। उहाँले हाल ‘जेनजी आन्दोलन’ का नाममा घुसपैठ गरी सार्वजनिक तथा निजी सम्पत्ति नष्ट गर्ने गतिविधि गलत भएको बताउँदै यस्ता अराजक कार्य रोक्न राज्यले कडाइका साथ कदम चाल्नुपर्नेमा जोड दिनुभयो।
वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाईंले समाजमा अन्तर्विरोध बढ्दै गए द्वन्द्व चर्किने जोखिम रहने बताउँदै जनजीवनमा निकै प्रभाव पारेको ‘जेनजी आन्दोलन’ बिर्सिन नसकिने बताउनुभयो । उहाँले जनप्रतिनिधिहरू जनअपेक्षा अनुसार जिम्मेवारीपूर्वक नचले असन्तोष बढ्ने बताउनुभयो।
वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले स्थानीय सरकार नै राज्यको सबैभन्दा शक्तिशाली तह भएको उल्लेख गर्दै अदालतले प्रमाणित नगरेसम्म कुनै पनि स्थानीय नेतृत्वलाई कसैले कमजोर पार्न नसक्ने धारणा राख्नुभयो। उहाँले संघीयताले देशलाई कमजोर होइन, झनै व्यवस्थित र सक्षम बनाएको भन्दै संघीय संरचनाको महत्वलाई कमजोर नपार्न आग्रह गर्नुभयो।
कार्यक्रममा नगरप्रमुख लब श्रेष्ठले सहभागीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै नगर तथा नागरिकको हितका लागि नगरपालिकाले सकेसम्म प्रभावकारी रूपमा काम गर्दै आएको बताउनुभयो। उहाँले आफ्नो कार्यकालको अन्त्यमा पाँच वर्षमा सम्पन्न गरेका सबै कार्यको विस्तृत प्रगति प्रतिवेदन सार्वजनिक गर्ने घोषणा पनि गर्नुभयो। हिजोका अनुभवलाई अध्ययन र अनुसन्धानमार्फत सुधार गर्दै अघि बढिरहेको र भावी पुस्ताले समेत त्यसलाई आधार मान्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्