जनता टाइम्स

१७ मंसिर २०८२, बुधबार ११:१४

मुख्यमन्त्रीले अनुपस्थित भएपछि मधेस प्रदेश सभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित 


काठमाडौं, मंसिर १७ । प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिन मागेको समय अघि नै  मधेस प्रदेश सभा बैठक बोलाएपछि मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित हुनुभएको छ ।

बुधबार बिहान ८ः३० बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादव अनुपस्थित हुनुभएको हो ।  उहाँले प्रदेश सभामा दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाउन पत्र पठाउनुभएकोमा सर्वदलीय बैठकले बुधबार बिहान ८ः३० बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।

सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रूपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिनुभएको थियो ।

मुख्यमन्त्री यादव  र सत्ता पक्षका सांसद अनुपस्थित भएपछि प्रदेश सभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।