काठमाडौं, मंसिर २१। किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकारले यस वर्षबाट नमुना कार्यक्रमका रूपमा ‘किशोर–किशोरी डिजिटल पार्क (Adolescent Digital Park)’ सञ्चालन गर्ने भएको छ।
वाग्मती प्रदेशकी स्वास्थ्य मन्त्री किरण थापा मगरले किशोर–किशोरीमा बढ्दो असुरक्षित यौन व्यवहार, असुरक्षित गर्भपतन तथा यौन रोगका जोखिमलाई ध्यानमा राख्दै प्रदेश सरकारले डिजिटल पार्कको अवधारणा अघि सारेको बताउनुभयो। स्थानीय तहसँगको समन्वय र साझेदारीमा यो कार्यक्रम यसै वर्षदेखि कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुभयो।
मन्त्री थापाले भन्नुभयो, ‘किशोर–किशोरीमा यौनिकता र शारीरिक विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बालविवाह, जबरजस्ती करणी, सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असर, यौन दुर्व्यवहार लगायत विषयमा विशेषज्ञ सामग्रीहरू तयार गरेर डिजिटल बोर्डमार्फत किशोर–किशोरी जमघट हुने पार्कमा प्रवाह गरिनेछ, यस वर्ष एउटा र आगामी वर्षदेखि यसलाई अन्य पालिकामा पनि विस्तार गर्ने योजना छ।’
यस कार्यक्रममार्फत पोडकास्ट, सचेतनामूलक सन्देश, तथ्य आधारित परामर्श तथा समाधानका सामग्रीहरू डिजिटल माध्यमबाट उपलब्ध गराइने मन्त्री थापाले बताउनुभयो।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यो कार्यक्रम देशभरकै पहिलो अवधारणा भएको बताउनुभयो। उहाँका अनुसार किशोर–किशोरीको शारीरिक तथा मानसिक विकासका संवेदनशील चरणमा सही जानकारी, व्यवहार परिवर्तनका सन्देश तथा परामर्श उपलब्ध गराउनु यो कार्यक्रमको प्रमुख उद्देश्य हो। उहाँले थप भन्नुभयो, ‘दुर्व्यसन, अस्थायी गर्भनिरोधक साधनको प्रयोग, अनिच्छित गर्भाधारण रोकथाम, यौन शिक्षा, मासिक धर्म सुरक्षा, एचआइभी तथा यौन रोगबाट जोगिने उपाय, लैङ्गिक हिंसा तथा व्यक्तिगत सुरक्षासम्बन्धी सन्देशलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ, एक वर्षमा झन्डै एक लाख किशोर–किशोरी यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने हामीले लक्ष्य राखेका छौँ।’
वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झाले कार्यक्रमका लागि मन्त्रालयले २५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो। कार्यक्रम कार्यान्वयन हुने पालिकाले समेत आर्थिक तथा प्राविधिक साझेदारी गर्ने व्यवस्था गरिएको छ।
कार्यक्रम सञ्चालन हुने पार्कमा डिजिटल जानकारीमूलक कोठा, हल, बाल–मैत्री स्थान, एडोलसेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले क्षेत्र, पोस्टर डिस्प्ले वाललगायत संरचना निर्माण गरिने भएको छ। साथै एनिमेटेड भिडियो, इन्फोग्राफिक्स, पोस्टर, तथ्यात्मक भिडियो तथा लघु वृत्तचित्रमार्फत सन्देश प्रसारण गरिने निर्देशक झाले जानकारी दिनुभयो।
उहाँका अनुसार स्मार्ट टिभी, स्क्रिन, युपिएस, इन्टरनेट, क्युआर–कोड आधारित प्रतिक्रियामार्फत सामग्री पहुँच सुनिश्चित गर्ने प्रणाली समेत स्थापना गरिनेछ। किशोर–किशोरीको भीड हुने हेटौडा वा काठमाडौं उपत्यकाका चिडियाखाना, त्रिभुवन पार्क, फन पार्कलगायत स्थानमध्ये कुनै एक पालिकामा पहिलो डिजिटल पार्क सञ्चालन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्