जनता टाइम्स

२२ मंसिर २०८२, सोमबार १०:५८

प्रदीप ज्ञवालीको चुनौती : एमालेभन्दा राम्रो, ठुलो र सक्षम पार्टी बनाउने आँट भए गाली होइन, काममा प्रतिस्पर्धा गर्नुस्


काठमाडौं, मंसिर २२। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक बहसमा उठाइएका आरोप–प्रत्यारोप, गालीगलौज र बिनाआधारको आलोचनाबाट जोगिएर तथ्य, सिद्धान्त र व्यवहारमा आधारित राजनीतिक प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले अन्य राजनीतिक दलका नेताहरू र स्वघोषित विश्लेषकहरूलाई एमालेलाई गाली गर्न भन्दा पनि एमाले भन्दा ठुलो राजनीतिक दल बनाउन सुझाव दिनुभएको छ । दुई दशकसम्म ‘मार्क्सवादको विकासको तेस्रो आयाम’ भनेर प्रस्तुत गरिएको माओवादी सिद्धान्त किन छोडियो, ‘माओवादी’ ब्राण्ड किन परित्याग गरियो भन्ने विषयमा स्वयं त्यसका नेतृत्वबाट कुनै विश्वसनीय स्पष्टीकरण नआएको विषय गम्भीर हुन उहाँले आग्रह गर्नु भएको छ ।

त्यसैगरी ‘जनयुद्ध’ ले देशले भोगेको ठुलो क्षति र त्यसको विरासतबारे कुनै जवाफ नआउनु, एमालेको आठौँ महाधिवेशनमा प्रस्तुत २३ आधारबारे मौनता र आजसम्म सैद्धान्तिक दिशानिर्देशबारे चर्चा नै नगर्नु राजनीतिक जबाफदेहिताबाट पलायन भएको उहाँको टिप्पणी छ ।

एमसिसी लगायतका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्नेहरूकै पहलमा पछि उनीहरूको अजेण्डा नै विलय हुनु र त्यसबारे पनि कुनै स्पष्टता नआउनु अर्को विरोधाभास रहेको उहाँको भनाइ छ। उहाँले गणतन्त्र स्थापनादेखि अहिलेसम्मको १७ वर्षभन्दा बढी अवधिमा चार पूर्वप्रधानमन्त्रीले देशको नेतृत्व गरेको तथ्य स्मरण गराउँदै, त्यो अवधिमा भएका गुण–दोषको हिसाब नदिई समग्र सङ्कटको जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि मात्रै थोपर्न खोज्नु तर्कसङ्गत नहुने बताउनुभएको छ । ‘गणतन्त्र स्थापनादेखि भदौ २४ गतेसम्मका कुल १७ वर्ष ३ महिना १० दिन (कुल ६ हजार ३०५ दिन) मध्ये नेतृत्वमा २५४२ दिन ( प्रचण्ड ११५४, बाबुराम ५६२, माधव ६२२ र झालनाथ २०४) र सरकारमा ४१८४ दिनभन्दा बढी सहभागी हुँदाका गुणदोषको कुनै जिम्मा लिनु नपर्ने, तर आजका समग्र सङ्कटको जबाफदेही चैँ १९६१ दिनसम्म नेतृत्व गरेका केपी शर्मा ओलीले लिनु पर्ने हो ? कुनै तर्कसङ्गत अभिव्यक्ति छैन’, उहाँको विश्लेषण छ ।

एमाले माथि भइरहेको गाली पुराणलाई उहाँले निरर्थक र भ्रमपूर्ण अभिव्यक्ति भन्दै, विशेषतः ‘एमालेको सदस्यता ८ लाखबाट घटेर ३ लाखमा झर्‍यो’ भन्ने दाबी वास्तविक र तथ्यसँगत नभएको बताउनुभएको छ । सामान्यीकृत आरोप र भावनात्मक भाषणले देश र पार्टी दुवैलाई कमजोर बनाउने चेतावनी दिँदै उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘अकबरले कोरेको धर्कोलाई छोटो बनाउने हो भने वीरबलले जस्तै छेउमै लामो धर्को तान्नुपर्छ, यदि एमालेभन्दा राम्रो, ठुलो र संगठनात्मक रूपमा सक्षम पार्टी बनाउन सकिन्छ भने गाली होइन, कामका आधारमा प्रतिस्पर्धा गर्नुस्।’

ज्ञवालीले देश ठुलो परिवर्तन, स्थिरता र आर्थिक पुनरुत्थानको खाँचोबाट गुज्रिरहेको वर्तमान अवस्थामा गाली–गलौजले होइन, स्पष्ट राजनीतिक दृष्टि, नीति र योजनाले मात्र विश्वास निर्माण हुने स्पष्ट पार्नु भएको छ ।