काठमाडौं, मंसिर २३ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनको लागि भक्तपुर सल्लाघारीमा मञ्च लगायतका संरचना निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ ।
मंसिर २७ गते सुरु हुने महाधिवेशनको उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथि लगायतका लागि आवश्यक अस्थायी संरचनाहरू निर्माण तीव्र पारिएको छ । भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका साथै अन्य संरचनाहरू निर्माण तीव्र गतिमा भइरहेको छ । उद्घाटनका दिन ३ लाख बढी मानिसहरू उपस्थित हुने अपेक्षा गरिएको छ ।
उद्घाटनस्थलमा १० हजार स्वयंसेवक परिचालन गरिने र ५ सय ५० जना स्वयंसेवक पोसाकसहित सहभागी हुने छन् । महाधिवेशनमा राष्ट्रिय युवा संघले मात्रै ५० हजार कार्यकर्तालाई उद्घाटनस्थलमा ल्याउने र नेसनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रम स्थलमा स्वयंसेवकका रूपमा परिचालन गरिने भएको छ ।
महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरूको सवारीसाधनलाई जगातीबाट इँटा–टायल कारखाना एवं स्थानीय प्लटिङमा पार्किङ गर्ने, र्यालीसहित सल्लाघारी उद्घाटनस्थलमा आउने र पश्चिमबाट आउने सवारी साधनलाई मध्यपुरथिमिको गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली जग्गा एवं कमेरोटार क्षेत्रका खाली जग्गामा पार्किङ गरेर र्यालीसहित सल्लाघारी आउने व्यवस्था मिलाउन लागिएको छ ।
मंसिर २७ गते मध्याह्न १२ बजे महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बन्दसत्र भने मंसिर २८ र २९ गते भृकुटीमण्डपमा हुने छ ।













प्रतिक्रिया दिनुहोस्