काठमाडौं, मंसिर २४ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पूर्वविद्यार्थी नेता, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले पार्टी केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ।
नेकपा एमाले रामेछापको अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गर्नुभएकाे श्रेष्ठ विद्यार्थी आन्दोलनबाट उदाउनुभएको नेता हो । संगठन विस्तार, अनुशासन र नेतृत्व क्षमताका श्रेष्ठ २०६६ सालमा पार्टीको जिल्ला कमिटी सदस्य निर्वाचित हुनुभएको थियो । त्यसपछिको सातौँ जिल्ला अधिवेशनबाट सचिव बन्नुभएका श्रेष्ठले नेकपा विभाजन भएको सङ्कटको घडीमा पार्टीको जिल्ला नेतृत्व सम्हाल्नु भएको थियो । त्यसपछि भएको आठौँ जिल्ला अधिवेशनमा उहाँ सर्वसम्मत अध्यक्ष बन्नुभएको थियो ।
जिल्लाको सक्रिय राजनीतिमा आउनुअघि श्रेष्ठ विद्यार्थी राजनीतिमा चर्चित नेताको रूपमा स्थापित हुनुभएको थियो । अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै वाग्मती अञ्चल कमिटी अध्यक्ष, केन्द्रीय सदस्य र सचिवालय सदस्यसम्मको यात्रा उहाँले विद्यार्थी आन्दोलनमा पुरा गर्नु भएको थियो ।
काठमाडौंस्थित नेपाल कमर्स क्याम्पस, मीनभवनका पूर्व स्ववियु सभापति समेत हुनुभएका श्रेष्ठले विद्यार्थी राजनीति पछि जिल्ला फर्केर संगठनात्मक संरचना मजबुत बनाउन काम गर्नु भएको थियो । आन्तरिक विवादलाई संवाद र समन्वयबाट समाधान गर्ने शैलीका कारण उहाँ संगठनभित्र ‘व्यवहारिक र समावेशी’ नेताका रूपमा चिनिनु हुन्छ । अनुभवी नेतृत्वको मार्गदर्शन जोगाएर युवालाई निर्णय संरचनामा अर्थपूर्ण ठाउँ दिनुपर्दछ भन्ने उहाँको मान्यता रहेको छ ।
श्रेष्ठले महाधिवेशनमार्फत एमालेले नयाँ पुस्ताको नेतृत्वलाई स्थान दिनुपर्नेमा जोड दिनुभएको छ। ‘एमालेमा लामो समयदेखि केन्द्रीय कमिटीमै रहेका धेरै नेताहरू हुनुहुन्छ, अब उहाँहरूले माथिल्लो तहमा जाने आँट गरेर जाम खुलाउनुपर्छ, पार्टीमा पुराना पुस्ताको अनुभव र युवाकाे अपेक्षालाई जोडेर अघि बढाउनु पर्छ’, उहाँले भन्नुभयो ।
उहाँले पार्टीलाई यति बेला विकल्प दिन सक्ने र अडान लिन सक्ने नेतृत्व पनि चाहिएको उहाँले बत्ताउनुभयो । ‘चुनाव जित्न मात्र होइन, विकल्प दिन सक्ने, अडान लिन सक्ने नेतृत्व अब पार्टीलाई चाहिएको छ,’ श्रेष्ठको भन्नुभयो ।
महाधिवेशनका क्रममा वैचारिक तथा राजनीतिक मतभेद देखिनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको बताउँदै उहाँले मतभेदलाई संवाद, सहकार्य र आन्तरिक लोकतन्त्रको संस्कृतिबाट समाधान गर्नु पर्ने बत्ताउनुभयो । ‘एकीकृत, सक्षम र जनमुखी नेतृत्व’ गठन गर्ने पार्टीमा सामर्थ्य रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
श्रेष्ठ पार्टी र जनताबिच ‘पुल’को भूमिकामा रहँदै विकास, सुशासन र नागरिकको आवाज संस्थागत गर्ने कार्यलाई आफ्नो प्राथमिकता बनाउने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्