काठमाडौं, मंसिर १४
ललितपुर महानगरपालिका आफैँले कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउने भएको छ । शनिबार कुपन्डोलमा आयोजित एक कार्यक्रममा मेयर चिरिबाबु महर्जनले त्यसको शुभारम्भ गर्नुभएको छ । आजबाट औपचारिक रुपमा लेन निर्माण कार्य थालेको नगरले जनाएको छ । ललितपुर महानगरले कुपण्डोल–जावलाखेल–लगनखेल–मंगलबजार–पुल्चोक रुटमा साइकल लेन बनाउने योजनासहित टेण्डर आह्वान गरेको हो।
महानगरका अनुसार साइकल लेन बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो रकमले कुपण्डोलदेखि लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाउने महानगरेको योजना रहेको छ । सडक विस्तार नगरी अहिले भएकै सडकको छेउमा १.२ मिटर क्षेत्रमा साइकल लेनका रुपमा रेखांकन गरिने नगरपालिकाले जनाएको छ । यसबाट साइकल यात्रीको सुरक्षाकासाथै वातावरण पनि स्वच्छ हुने महानगरको विश्वास छ ।
पाटन दरबार क्षेत्रलाई केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने योजना छ। ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले साइकल प्रयोगकर्तालाई प्रोत्साहन दिन साइकल लेन बनाउन लागेको बताउनुभयो । ‘साइकल प्रयोगकर्तालाई सहजता बनाउन औपचारिक रुपमा कार्यक्रम गरी साइकल लेन बनाउँदै छौँ ।’ उहाँले भन्नुभयो, ‘वातावरणमैत्री बन्ने छ। साइकल प्रयोगबाट प्रदुषण नभई वातावरण स्वच्छ र हरियाली बन्ने छ।’ उहाँले अन्य सवारीसाधनको ओभरटेकले साइकल प्रयोगकर्तालाई समस्या हुने गरेको बताउनुभयो ।
प्रवक्ता महर्जनले भन्नुभयो, ‘सडकमा साइकल चलाउनेलाई धेरै समस्या छ, ठूला सवारी साधनले ठक्कर दिएर कतिपय साइकल यात्रुको मृत्यु समेत हुने गरेको छ । यस कार्यक्रमले धेरै सुविधा पुग्छ।’ महानगरपालिकाको लेन बनाउने योजना धेरै अघिबाट ल्याएको भएपनि काम हुन सकेको थिएन। नगरपालिकाको आर्थिक वर्ष २०७६र०७७ को बजेट पुस्तिकामा पनि मुख्य सडकको दायाँ–बायाँ यात्रीका लागि साइकल लेन र सुरक्षित साइकल स्टाण्ड निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्