काठमाडौं, पुस ५ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले दलका नेताहरूलाई काठमाडौँ बाहिर जान नदिएर सरकारको कस्तो निर्वाचन गराउन खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ ।
शनिबार विराटनगर ६ सरौचियामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा जस्तै सबै राजनीतिक दलहरुलाई सहभागी गराएर निर्वाचनमा जानुपर्ने बताउनुभयो । ‘राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्रीलाई काठमाडौँ बाहिर जान नपाइने भन्दैछ यो सरकार, अनि अर्कोतर्फ सरकार म निर्वाचन गराउँछु पनि भन्दै छ, यो कस्तो निर्वाचन गराउन खोजेको ?’ डा. कोइरालाले प्रश्न गर्नुभयो ।
उहाँले फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले भाग लिने भन्दै सरकारलाई निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न आग्रह गर्नुभयो । ‘कांग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको छ, हामी त निर्वाचनमा जान्छौँ नै’, उहाँले भन्नुभयो ‘तर सरकारले शान्ति सुरक्षा प्रत्याभूति गराउनुपर्यो, अझैपनि जेलबाट सार्पसुटरसहित ५ हजार बढी कैदी फरार छन्, प्रहरीको हातहतियार लुटिएको छ, फरार कैदीलाई पक्राउ गर्नु पर्यो, हतियार बरामद गर्नुपर्यो, सरकार त्यतातिर ध्यान दिइरहेको छैन।’
उहाँले भदौ २३ र २४ भएको जेनजी आन्दोलन फरक–फरक रुपमा लिनुपर्ने बताउनुभयो। २३ गतेको घटना घृणित रहेको र उक्त घटनालाई जति निन्दनीय भने पनि माफी पाउने अवस्था नरहेको बताउनुभयो । उहाँले २४ गते भएको विध्वंसको पनि छानबिन हुनुपर्ने माग गर्नुभाे । डा. कोइरालाले अहिलेको अवस्थामा पार्टीको महाधिवेशन केहीदिन तलमाथि हुनसक्ने आशंका ब्यक्तसमेत गनुभयो ।













प्रतिक्रिया दिनुहोस्