जनता टाइम्स

६ पुष २०८२, आईतवार १८:२७

भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको संलग्नता थिएन : डा.शेखर कोइराला


काठमाडौ, पुस ६। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको संलग्नता नरहेको जिकिर गर्नुभएकाे छ।

आइतबार विराटनगरमा आयोजना गरिएको ‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोलि- चुनौती, अवसर र सम्भावना’ बारे युवासँग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताउनुभयाे ।

भदौ २४ गते गरिएको विरोध, विद्रोहभन्दा पनि विध्वंस भएको बताउँदै उहाँले त्यसमा जेनजी युवाहरूको हात नरहेको बताउनुभयाे । उहाँले भदौ २३ गतेको घटनाका दोषीलाई मात्र नभई भदौ २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गर्नुभयाे ।

कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेनजीहरुको प्रश्नको उत्तर दिँदै नेता कोइरालाले शिक्षामा भइरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गर्नुभयाे। उहाँले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अङ्ग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको पढाइले दुई प्रकारका नागरिक उत्पादन भइरहेको उहाँले बताउनुभयाे।