जनता टाइम्स

६ पुष २०८२, आईतवार १९:३९

मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहद्वारा देशव्यापीआन्दोलन घोषणा, सर्वपक्षीय सरकार गठनको एजेण्डा


काठमाडौं, पुस ६। मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी’ आन्दोलन घोषणा गरेको छ । आज आयोजित एक कार्यक्रममा उक्त समूहले आन्दोलनको औपचारिक घोषणा गरेको हो ।

आन्दोलनको पहिलो कार्यक्रम स्वरूप भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन ढुङ्गानाले आव्हान गर्नुभएको छ । उहाँले भदौ २३–२४ मा भएको आन्दोलन र त्यसले उठाएका मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । सरकार गठन भएको सय दिन बितिसक्दा पनि जनताले प्रत्यक्ष महसुस गर्ने गरी कुनै उल्लेखनीय काम हुन नसकेको उहाँको टिप्पणी छ ।

कार्की सरकारले जेन–जी आन्दोलनको मर्म नबुझेको र समग्र युवाको नेतृत्व गर्न असफल भएको दाबी गर्दै ढुङ्गानाले सर्वपक्षीय सरकार गठनको माग गर्नुभयो । सबै राजनीतिक तथा सामाजिक पक्षलाई विश्वासमा लिन सक्ने नेतृत्व देशका लागि आवश्यक भएको उहाँको भनाइ छ ।

आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेन–जी अभियन्ता तथा अगुवाहरूको उपस्थिति रहेको थियो  ।