जनता टाइम्स

७ पुष २०८२, सोमबार ०७:३०

फास्ट फुड एसोसिएसन नेपालद्वारा आयोजित प्रथम फुटसल कप–२०८२ काे उपाधि मकालु किङ्सलाई


काठमाडौं, पुस ७ । फास्ट फुड एसोसिएसन नेपालद्वारा आयोजित प्रथम फुटसल कप–२०८२ धुम्बाराही हाइटस्थित सूर्य फुटसलमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ की वडा अध्यक्ष तथा समाजसेवी सुमित्रा त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रम केन्द्रीय सदस्य तथा संयोजक सुरेश कार्कीको संयोजनमा आयोजना गरिएको हाे ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ तथा ‘स्वास्थ्यसँग फास्ट फुड’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा राजधानीका विभिन्न क्षेत्रका सात टोलीले सहभागिता जनाएका थिए। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलका बीच मकालु किङ्सले प्रथम स्थान हासिल गर्न सफल भयो। गणेश हिमाल वारियर्स दोस्रो, लाङटाङ किकर्स तेस्रो तथा धौलागिरी योद्धाले सान्त्वना स्थान प्राप्त गरेका छन्।

विजेता मकालु किङ्सलाई कप, मेडल र प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ प्रदान गरिएको थियो। दोस्रो हुने टोलीलाई २० हजार, तेस्रो हुने टोलीलाई १० हजार तथा सान्त्वना टोलीलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष तराराम श्रेष्ठ, पूर्व अध्यक्षहरू फडिन्द्र बहादुर श्रेष्ठ, धन बहादुर श्रेष्ठ र केशर बहादुर श्रेष्ठलगायत सल्लाहकारहरू, वर्तमान तथा पूर्व कार्यसमिति पदाधिकारी, सामाजिक अगुवा, व्यवसायी, उद्यमी, पत्रकार, रेफ्री, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधि, दर्शक र खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको  एसोसिएसनका महासचिव राकेश श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रतियोगिताका लागि गोरखा ब्रुअरी प्रा.लि., ग्रीन एग्रो नेपाल, होटेल स्मार्ट दरबार, ग्लोबल ट्रेडिङ कम्पनी लिमिटेड, समृद्धि ग्रुप, सवारी सेवा नेपाललगायत संस्थाहरूले सहयोग गरेका थिए।

खेल प्रेमीहरूको उत्साहजनक सहभागितामा मर्यादित, अनुशासित र स्वस्थ खेल वातावरणमा प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने व्यवस्थापन टोली, समिति, एरिया इन्चार्ज, पदाधिकारी, सदस्य, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अध्यक्ष तथा आबद्ध व्यवसायी र पत्रकारप्रति आयाेजकले आभार व्यक्त गरेको छ।