काठमाडौं, पुस ८ । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले नेकपा एमालेसँग छलफल गरेको छ । सञ्चार मन्त्री जगदीश खरेलको नेतृत्वमा रहेको टोलीले एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर संवाद गरेको हो ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई लक्षित गर्दै सरकार सम्पूर्ण तयारीका साथ अघि बढिरहेको बताउनुभयो । एमाले पनि निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ परिचालित छन् , निर्वाचनको वातावरण निर्माणका सन्दर्भमा एमालेले वातावरण बनाइदिनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौ भन्ने कुरा पार्टीका महासचिवले स्पष्ट रूपमा राख्नुभएको छ ।’
सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो । ‘कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचनको प्रचार–प्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्नेछ,’ मन्त्री खरेलले भन्नुभयो, ‘नेताहरू सहज रूपमा मत माग्न बाहिर जान पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा उठेका सबै प्रश्नहरूको समाधान गर्ने वातावरण सरकारले बनाउँछ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोकिएको विषयमा प्रतिक्रिया दिँदै उहाँले सरकार आफ्नो अधिकार क्षेत्र, कानुन र प्रक्रियाभित्र रहेर आवश्यक वातावरण मिलाउने स्पष्ट पार्नुभयो । ‘निर्वाचन आयोगले गरिरहेको काममा कुनै नकारात्मक असर नपर्ने गरी सरकार अघि बढ्नेछ,’ उहाँले भन्नुभयो, ‘तर निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागहरूलाई सरकारले बेवास्ता गर्न सक्दैन ।’
कानुनी र प्रक्रियागत ढङ्गले ती मागहरू जिम्मेवारीपूर्वक सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै मन्त्री खरेलले भन्नुभयो, ‘यो नागरिकको सरकार हो, यो सरकारले न त अन्याय गर्छ, न त कसैलाई अन्याय हुन दिन्छ ।’













प्रतिक्रिया दिनुहोस्