जनता टाइम्स

८ पुष २०८२, मंगलवार १९:२९

राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक : फागुन २१ को निर्वाचन सम्पन्न गर्न वातावरण बनाउने समझदारी


काठमाडौं, पुस ८। फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताबिच समझदारी भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलमा निर्वाचन सफल बनाउने सहमति भएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको अनुकूल वातावरण तयार पार्ने विषयमा थप विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारीसमेत भएको छ । छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिबाट निकास दिन निर्वाचन घोषणा गरिएको बताउनु भएको थियो । ‘यो गम्भीरतालाई ध्यानमा राख्दै निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको समाधानका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको स्पष्ट पार्दै आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा गराउनु भएको बार्ता कार्की नेतृत्वकाे सरकार बनेपछि प्रधानमन्त्री कार्की र निवर्तमान प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली, सभापति देउवा र संयोजक प्रचण्डबिच यो पहिलो वार्ता हो ।