जनता टाइम्स

९ पुष २०८२, बुधबार १०:०४

यो देश एक पुस्ताको पेवा होइन-बहुपुस्ताको हो, राजनीतिमा छिरेर देश लुट्नेहरूको जमात बढ्याे : युवराज सङ्ग्रौला


काठमाडौं, पुस ९। संविधानविद् युवराज सङ्ग्रौलाले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देश ‘भूराजनीतिको पूर्ण चङ्गुल’मा फस्दै गएको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार अहिलेको राजनीति विचारविहीन बन्दै गएको छ र सत्ता तथा पहुँचका लागि ‘नाटक’ बढ्दै जानु देशका लागि शुभ सङ्केत होइन ।

राजनीतिमा सिद्धान्त र विचारको प्रधानता हराउँदै गएको उल्लेख गर्दै सङ्ग्रौलाले भन्नुभएको छ, ‘हिजो शरीर धनुषझैँ बाङ्गो पारेर जागिर खाई पेन्सन पकाएका मानिस आज मन्त्रीका कोठा–कोठा धाउँदै राजनीति जन्ती गएझैँ कुदिरहेका छन्, यो अवस्था खतरनाक छ ।’

हालै बङ्गलादेशको ढाकामा भएको छलफलको सन्दर्भ उठाउँदै उहाँले दक्षिण एसियामा अस्थिरता सिर्जना गर्ने अन्तर्राष्ट्रिय खेलप्रति पनि शङ्का व्यक्त गर्नुभएको छ । बङ्गलादेशमा चुनाव हुन नदिन युवा नेताहरूको हत्या भएको उहाँको आशङ्का छ । ‘चुनाव हुन नदिन युवा आन्दोलनका नेताको हत्या गरिएको हो कि भन्ने शङ्का व्यापक छ,’ सङ्ग्रौलाको भनाइ छ, ‘दक्षिण एसियाली देशहरू एक भएर निकास खोज्न नदिन विदेशी शक्तिहरू सक्रिय देखिन्छन् ।’

नेपालमै पनि कुनै छलफलविनै चुनाव अस्वीकार गर्दै संसद् पुनर्स्थापनाको आन्दोलन घोषणा गरिनुले गम्भीर अन्योल सिर्जना गरेको उहाँको ठहर छ । ‘यो कदम देशलाई विसर्जनको चङ्गुलमा धकेल्ने दाउ हो,’ उहाँका भनाइ छ । सङ्ग्रौलाले विगतमा आफूले संसद् विघटनको सट्टा दुवै सदनको विशेष बैठकबाट राजनीतिक निकास खोज्नुपर्ने सुझाव दिएको स्मरण गराउँदै भन्नुभयो, ‘तर हठात् संसद् विघटन गरियो, जसको परिणाम आज देखिँदै छ ।’

‘यो देश कसैको बपौती होइन, न नयाँको न पुरानाको,’ उहाँले जोड दिँदै भन्नुभएको छ, ‘राजनीतिमा छिरेर देश लुट्नेहरूको जमात जताततै देखिन थालेको छ, अब पनि हद नाघियो भने देशले गम्भीर मूल्य चुकाउनुपर्छ ।’

संविधानविद् सङ्ग्रौलाले सबै राजनीतिक शक्ति र नेतृत्वलाई आत्मसंयम, संवाद र संवैधानिक निकासतर्फ गम्भीर हुन आग्रह गर्नुभएको छ ।