रामेछाप, पुस ११। पहिला सहरी क्षेत्रका सुविधाभोगी वर्गमा मात्रै देखिने नसर्ने रोगहरू अहिले रामेछापका ग्रामीण भेगमा पनि तीव्र रूपमा बढ्न थालेका छन्। जिल्लाका गाउँबस्तीमा मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर) लगायतका नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सञ्चालन गरिरहेको नसर्ने रोगको घरदैलो परीक्षण कार्यक्रमका क्रममा उल्लेख्य सङ्ख्यामा सुगर र प्रेसरका बिरामी फेला परेको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताउनुभयो। उहाँका अनुसार घर–घरमा पुगेर जाँच गर्दा धेरै नागरिकमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको छ।
कार्कीका अनुसार ‘जाँच गरेपछि रोग देखिन्छ’ भन्ने डरका कारण धेरैले स्वास्थ्य परीक्षण नै नगर्ने प्रवृत्ति पाइएकाले रोग झन् गम्भीर बन्दै जाने समस्या देखिएको छ। “अन्तिम अवस्थामा मात्रै अस्पताल आउने अवस्था छ, जसले उपचार जटिल बनाइरहेको छ,” उहाँले भन्नुभयो।

स्वादका लागि अत्यधिक चिल्लो, गुलियो तथा प्रशोधित खाना खाने बानी बढ्नु, चिनीको मात्रा बढी भएका खाद्यपदार्थ र पेय पदार्थको सेवन, मदिरा सेवन तथा शारीरिक व्यायामको कमीका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको उहाँको भनाइ छ।
चिकित्सालयले बस्ती–बस्तीमा पुगेर नसर्ने रोगको परीक्षण गर्ने र समस्या देखिएकालाई थप परीक्षण तथा उपचारका लागि चिकित्सालयमा बोलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ। घरदैलो अभियानका क्रममा रोग परीक्षणसँगै स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिँदै आएको कार्कीले जानकारी दिनुभयो।
यसका साथै चिकित्सालयले गाउँ-गाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ, जसमा नागरिकको उल्लेख्य सहभागिता रहने गरेको छ। यस्ता कार्यक्रमले नसर्ने रोगको समयमै पहिचान र नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।













प्रतिक्रिया दिनुहोस्