जनता टाइम्स

१३ पुष २०८२, आईतवार ०९:२७

यसरी जुट्यो रवि-बालने सहमति, अटेनन कुलमान


काठमाडौं, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अन्ततः एक हुनुभएको छ । एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित दुवै जनाले ७ बुँदे सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्ने तय भएको छ भने आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन साहलाई प्रस्ताव गरिएको छ । आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने घोषणाका साथ रवि र बालेनले त्यसमा आफूहरूको प्रतिबद्धता देखाउनु भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राखिएको छ । सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाम मात्रै लेख्नुभएको छ । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयवस्तु उल्लेख भए पनि रवि लामिछानेको नाम मात्रै उल्लेख गरिएको छ ।

रविले पार्टी सभापतिको हैसियतले हस्ताक्षर गर्नुभएको छैन । काठमाडौं महानगरपालिकाका मेयर शाहले पनि सम्झौतापत्रमा आफ्नो पदीय हैसियत खुलाउनु भएको छैन । सम्झौतापछि सम्भवतः बालेन शाह मेयर पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुनुहुने भएको छ ।

सम्झौताको पहिलो बुँदामा नवयुवा (जेनजी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । यस्तै घाइते र सहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिबद्धता जनाउँदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनिएको छ । उहाँहरूले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमानदार भएर समर्पित हुने जनाउनु भएको छ ।

रवि र बालेनले आफूहरूलाई पहिलो र दोस्रो पक्षको रूपमा प्रस्तुत गर्दै अब बृहत् एकता गर्ने उद्घोष गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चिन्ह र झण्डा पुरानै हुनेछ । सम्झौतापत्रमा, पार्टीको नेतृत्व रविले र आगामी सरकारको नेतृत्व बालेन शाहले गर्ने सहमति भएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

पटकपटक एकताको छलफल र संवाद भए पनि सम्झौतापत्रमा ऊर्जा मन्त्री कुलमान घिसिङ र उहाँ आबद्ध उज्यालो नेपाल पार्टीका बारेमा केही उल्लेख छैन । तर बृहत् एकताका क्रममा कुलमानलाई समेट्ने समेट्ने प्रयास हुने उल्लेख छ । ‘पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सम्झौतापत्रमा भनिएको छ ।

यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनाका साथ निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख र दस्ताबेज अद्यावधिक गर्ने घोषणा गरिएको छ । घोषणा अनुसार, अब बालेन पक्षका समानुपातिक उम्मेदवारहरू पनि स्वतः रास्वपाबाट प्रतिस्पर्धा गर्नेछन् । र, सम्भवतः दुई दिनभित्रै आपसी सहमति गरेर निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको सूची बुझाइने छ । प्रत्यक्षतर्फको मनोनयन भने अझै तीन साता बाँकी छ ।

रवि र बालेनले आफूहरूको अभियानलाई वैकल्पिक राजनीतिक शक्तिको नाम दिएर रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन जिकिर गर्नुभएको छ । सम्झौतापत्रमा भनिएको छ, ‘लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने ।’

सम्झौतापत्रमा पार्टीका अरू पदाधिकारीहरूको भूमिका, दुई पक्षबिच सम्झौता गर्दा उम्मेदवारहरूको चयन एवं व्यवस्थापनको विषय उल्लेख गरिएको छैन । यसअघि पनि रवि लामिछाने र बालेन साहबिच पटकपटक एकैसाथ निर्वाचनमा जानेबारे छलफल भएपछि टुङ्गोमा पुगेको थिएन ।

 

कारागारमा रहेका रवि उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकताको छलफलले तीव्रता पाएको हो । यस क्रममा दुवै पक्षले ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए, आइतबार बिहानैको सम्झौतामा उनी जोडिएका छैनन् । कुलमानले रविलाई नेता मान्न नसकिने बताउँदै आउनु भएको छ । सोही कारण रातभरको वार्तामा बसे पनि सहमति जुट्न नसकेको हो ।

आज बिहान सवा चार बजेतिर सहमति पत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षरको क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असीम साह लगायत सहभागी हुनुहुन्थ्यो । यसै गरी कुमार बेन, सुदिप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भूपदेव साह, कलाकार निश्चल बस्नेत लगायत पनि सो कार्यक्रमको साक्षी हुनुहुन्थ्यो ।

जेनजी आन्दोलनमा रवि र बालेन दुवै जनामाथि आगजनी र तोडफोडमा संलग्नता रहेको आरोप लागेको छ । एकले आन्दोलनको लुकेर नेतृत्व गरेको, अर्काले जेल तोडेर अपराधी निकालेर देशभर आगो लगाउने काम गरेको आरोप लगाइएको हो ।