काठमाडौं, पुस १३ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता सहभागी हुने भएका छन्। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो।
अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता सूचीकृत भएका छन्। सम्बन्धित मतदाताले आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको आयोगले जनाएको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशित गरेकाे हाे । आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गरिएको हो।
विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य एक सय ८५ गरी कुल मतदाता सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको थियो। त्यसको तुलनामा विसं २०८२ को निर्वाचनमा कुल मतदाता सङ्ख्या ९ लाख १५ हजार १ सय १९ ले वृद्धि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार पुरुष मतदाताको सङ्ख्या ५ लाख २२ हजार ५ सय ५२, महिला मतदाताको सङ्ख्या ३ लाख ९२ हजार ५ सय ५२ र अन्य मतदाताको सङ्ख्या १५ ले बढेको छ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो सङ्ख्या २०७९ सालको निर्वाचनको तुलनामा मतदानस्थल ७५ र मतदान केन्द्र ८ सय ८५ ले बढी हो।













प्रतिक्रिया दिनुहोस्