जनता टाइम्स

१३ पुष २०८२, आईतवार २१:०३

रामेछापका उमाकुण्डमा व्यावसायिक सुन्तला खेतीतर्फ किसानको आकर्षण


रामेछाप, पुस १३ । रामेछापको उमाकुण्ड गाउँपालिका–४ र ५ प्रीति क्षेत्रका किसानहरू व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । अन्य परम्परागत खेती गर्नेको सङ्ख्या गाउँमा घट्दै गएका बेला एक पटक लगानी गरेपछि वर्षौँसम्म आम्दानी दिने सुन्तला खेती रोजाइमा पर्न थालेको हो ।

कृषि विज्ञहरूका अनुसार एक पटक रोपिएको सुन्तलाको बिरुवाले करिब ५० वर्षसम्म राम्रो फल दिन सक्छ । यही सम्भावनालाई ध्यानमा राख्दै उमाकुण्ड गाउँपालिकाले वडा नं. ४ र ५ लाई सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पकेट कार्यक्रम सुरु भएपछि किसानहरू बगैँचा विस्तारमा सक्रिय बनेका छन् । किसानहरूले एक सिजनमा सुन्तला बिक्रीबाट २ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । बजार व्यवस्थापन अझ व्यवस्थित हुन सके आम्दानी थप बढ्ने स्थानीय किसान नेत्रमाया सुनुवार बताउनुहुन्छ । उहाँका अनुसार आफ्ना चार रोपनी क्षेत्रफलमा रहेको सुन्तला बगैँचाबाट वार्षिक करिब २ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ ।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार वाग्मति प्रदेश सरकार र उमाकुण्ड गाउँपालिकाको सहकार्यमा ती वडामा पकेट कार्यक्रम सञ्चालन गरिएको हो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत किसानलाई सुन्तलाका बिरुवा, विषादी तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । आवश्यक परे उत्पादनको बजारीकरणमा समेत गाउँपालिकाले सहयोग गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

हाल किसानले उत्पादन गरेको सुन्तला बगैँचामै पुगेर व्यापारीहरूले खरिद गर्ने गरेका छन् । स्थानीय हाटबजारमा समेत किसानको उत्पादन सहज रूपमा बिक्री हुँदै आएको छ ।

जग्गा बाझिँदै गएको अवस्थामा फलफूल खेतीप्रति किसानको बढ्दो आकर्षणले ग्रामीण क्षेत्रमा आम्दानीको नयाँ सम्भावना खोलिदिएको स्थानीय वासीहरूको भनाइ छ ।