जनता टाइम्स

१४ पुष २०८२, सोमबार १९:३२

निर्वाचन आयोगमा जेन–जीको प्रदर्शन, निर्वाचन प्रक्रिया रोक्न र प्रधानमन्त्रीको राजीनामा माग


काठमाडौं, पुस १४ । निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने प्रक्रिया चलिरहँदा जेन–जी समूहले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले निर्वाचन प्रक्रिया बन्द गर्न र प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग गर्दै आयोग परिसरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘निर्वाचन धोका हो’, ‘नालायक सरकार मुर्दावाद’, ‘निर्वाचन प्रक्रिया बन्द गर’, ‘भ्रष्टलाई कारबाही गर’, ‘सुशीला कार्की राजीनामा दे’, ‘प्रहरी दमन मुर्दावाद’, ‘हत्यारालाई कारबाही गर’, ‘जेन–जीको माग पूरा गर’ लगायतका नारा लगाउँदै आक्रोश व्यक्त गरेका थिए ।

प्रदर्शनका क्रममा केही जेन–जी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी हस्तक्षेपको विरोध गर्दै प्रदर्शनकारीहरूले सरकार र सुरक्षा संयन्त्रविरुद्ध नाराबाजीलाई अझ चर्काएका थिए ।

जेन–जी समूहले हालैका घटनामा राज्यको दमन भएको दाबी गर्दै दोषीमाथि कारबाही, भ्रष्टाचार नियन्त्रण र राजनीतिक नेतृत्वको जबाफदेहिताको माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । यस विषयमा सरकार र निर्वाचन आयोगको औपचारिक प्रतिक्रिया भने आएको छैन ।