जनता टाइम्स

१७ पुष २०८२, बिहीबार २०:२९

बिपी राजमार्गमा सवारी दुर्घटना, १५ जना घाइते


सिन्धुली, पुस १७ । बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८ स्थित माइस्थानमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

माइस्थानबाट जनकपुरतर्फ जाँदै गरेको म.प्र.०४–००१ च ०१५२ नम्बरको हात्ती गाडी आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा उक्त सवारीमा सवार १५ जना घाइते भएका हुन्। प्रहरीका अनुसार फस्ट जनवरीको अवसरमा सिन्धुलीको माइस्थानमा रमाइलो गरी जनकपुर फर्किँदै गर्दा सवारी साधन सडकको नालीमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा धनुषा जनकपुर उपमहानगरपालिका–७ का मनिराज साह, सुनित कुमार मण्डल, शोभा शर्मा, आर्यन शर्मा र श्रिया शर्मा, जनकपुर उपमहानगरपालिका–१३ का आशिष कुमार ठाकुर, जनकपुर उपमहानगरपालिका–१९ का ओम महरा, जनकपुर उपमहानगरपालिका–४ की कुसुम शर्मा, पर्सा वीरगन्ज महानगरपालिका–२ पिपराका रियाज अन्सारी, वीरगन्ज महानगरपालिका–५ का सिकन्दर बैठा र हरि ओम, बारा कलैया नगरपालिका–१५ का रमेश कुमार सहनी, कलैया नगरपालिका–१ का राजन बैठा तथा भारत, बिहारका सन्तोष कुमार शर्मा रहेका छन्।

घाइते सबैको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।