जनता टाइम्स

२० पुष २०८२, आईतवार २२:०८

अर्जुन गोर्खाली एमाले धादिङको कार्यबाहक अध्यक्ष


धादिङ, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ जिल्ला कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) लाई दिइएको छ ।

आइतबार बसेको जिल्ला कमिटी बैठकले उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

यस्तै, जिल्ला कमिटी बैठकले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा सर्वसम्मत निर्वाचित डा. पुष्प कडेल, केन्द्रीय सदस्यमा निर्वाचित भूमि त्रिपाठी तथा डा. खेमप्रसाद लोहनीलाई विशेष सम्मान गरेको छ ।

पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको जिल्ला कमिटीले जानकारी दिएको छ ।