जनता टाइम्स

२३ पुष २०८२, बुधबार २०:४१

जनताको पक्षमा स्पष्ट रूपमा बोल्ने पार्टी एमाले मात्रै हो भन्ने कुरा जनतासामु स्पष्ट रूपमा पुर्‍याउन आवश्यक : यामलाल कँडेल 


सुर्खेत, पुस २३ । नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेकपा एमालेको पक्षमा मत सुनिश्चित गर्न नेता तथा कार्यकर्तालाई वडा–केन्द्रित भएर सक्रिय हुन निर्देशन दिनुभएको छ ।

आज नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संसद पुनर्स्थापनापछि पार्टीले निर्वाचनमा जाने औपचारिक निर्णय गरिसकेको उल्लेख गर्नुभयो । अब पार्टी संगठनलाई आधार बनाएर वडा तहसम्म सक्रिय रूपमा परिचालित हुनुपर्ने उहाँको भनाइ थियो ।

भदौ २३ र २४ पछिको राजनीतिक परिस्थितिलाई उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको अवस्था अझै सामान्य नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशलाई अस्थिर बनाउने र आपराधिक प्रवृत्तिलाई एकै ठाउँमा राख्ने प्रयास भइरहेको छ, यस्तो अवस्थामा जनताको पक्षमा स्पष्ट रूपमा बोल्ने पार्टी नेकपा एमाले मात्रै हो भन्ने कुरा जनतासामु स्पष्ट रूपमा पुर्‍याउन आवश्यक छ ।’

मुख्यमन्त्री कँडेलले पार्टीले समानुपातिक तर्फको उम्मेदवार सूची बुझाइसकेको उल्लेख गर्दै एमाले निर्वाचनमा पूर्ण रूपमा होमिइसकेको स्पष्ट पार्नुभयो । साथै उहाँले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने अवस्थाबाहेक काठमाडौं धाउने प्रवृत्ति त्याग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कर्णाली प्रदेशका नेताहरूलाई टिकटको अपेक्षामा केन्द्रीय नेताहरूको घर–घरमा धाउने अभ्यास नगर्न पनि उहाँले आग्रह गर्नुभयो । यस्तो प्रवृत्तिले पार्टी संगठनलाई कमजोर बनाउने उहाँको भनाइ थियो ।

लोकतान्त्रिक शक्तिहरू कमजोर हुँदा देशको अवस्था अझ जटिल बन्न सक्ने चेतावनी दिँदै मुख्यमन्त्री कँडेलले निर्वाचनको तयारी वडालाई केन्द्रमा राखेर गर्न र भूगोल केन्द्रित योजना बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘जिल्लाको अवस्था कस्तो बन्छ भन्ने कुरा केन्द्रदेखि जिल्ला तहका नेताहरूको क्षमतामा निर्भर हुन्छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा सूर्य चिह्नमा मतदान गराउने स्पष्ट योजना बनाएर अघि बढ्नुपर्छ ।’

देशको स्वाभिमान जोगाउन लोकतान्त्रिक र देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले पार्टी संगठनलाई थप मजबुत बनाएर निर्वाचनमा होमिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।