जनता टाइम्स

२५ पुष २०८२, शुक्रबार १५:०१

कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा


काठमाडौं, पुस १५ । नेपाली कांग्रेसका संस्थापन पक्षसँग निकट रहेका १७ भ्रातृ संगठनले विशेष महाधिवेशनको प्रस्तावको विपक्षमा संयुक्त अपिल जारी गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि ती भ्रातृ संगठनहरूले पार्टी एकतामा जोड दिँदै विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट पारेका हुन् ।

संयुक्त अपिलमा भनिएको छ, ‘हालको अवस्थामा देश र जनतालाई संकटबाट मुक्त गर्न नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्न आवश्यक छ । यस सन्दर्भमा पार्टी सभापति, पदाधिकारी तथा सम्पूर्ण केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । नियमित महाधिवेशनको मिति वैशाख २८ देखि ३१ गतेसम्म तोकिसकिएको र फाल्गुन २१ गते आमनिर्वाचन सम्पन्न हुन गइरहेको अवस्थामा पार्टी एकताबद्ध भएर अघि बढ्नुको कुनै विकल्प छैन।’

अपिलमा अहिलेको संवेदनशील समयमा सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई संयमित, जिम्मेवार र सहअस्तित्व स्वीकार गर्दै सहमतिका माध्यमबाट अघि बढ्न आग्रह गरिएको छ ।

यसैबीच, भ्रातृ संगठनहरूले पुस २२ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय प्रवेश गर्ने क्रममा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलगायत अन्य नेताहरूप्रति देखाइएको अपमानजनक व्यवहारको पनि कडा निन्दा गरेका छन् । यस्तो गतिविधिले पार्टीको मर्यादा र एकतामा नकारात्मक असर पार्ने उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नहुने उनीहरूको जोड छ ।