जनता टाइम्स

२६ पुष २०८२, शनिबार १९:३३

रास्वपासँगको १२ दिन हाम्रो लागि अत्यन्त पीडादायी भयो : कुलमान घिसिङ


काठमाडौं, पुस २६ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको १२ दिने एकता प्रक्रिया आफ्नो पार्टीका लागि अत्यन्त पीडादायी भएको बताउनुभएको छ। रास्वपासँग पार्टी अलग भएपछि शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।

घिसिङले देशको परिस्थिति र जनआकांक्षा अनुसार ‘नयाँ शक्ति’ एक हुनुपर्छ भन्ने सोचका साथ सम्पूर्ण कुरा त्यागेर रास्वपासँग एकताको सहमति गरिएको बताउनुभयो। तर एकता पछि १२ दिनसम्म पार्टी नेतृत्व र कार्यकर्ताले हीनताबोधका साथ अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। ‘पुस १४ गते पार्टी एकता गर्दा भद्र सहमति भएको थियो,लिखित मात्र होइन, धेरै अलिखित सहमतिहरू पनि थिए,’ उहाँले भन्नुभयो, ‘हाम्रा कुनै ठूला माग थिएनन्, म वरियताक्रममा निकै तल बसेर साधारण सदस्य मात्र रहने, हाम्रा साथीहरूलाई समुचित स्थान दिन आग्रह गरेको थिएँ।’

उहाँले एक पुरक सम्झौता गर्न प्रस्ताव गरे पनि अन्तिम चरणमा त्यो समेत हुन नसकेको बताउनुभयो। घिसिङका अनुसार अन्तिम दिन आएर रास्वपाले एकतर्फी रूपमा सहमति भङ्ग भएको घोषणा गर्‍यो। ‘हामीलाई पूरै इङ्गेज बनाएर राखियो, उज्यालो नेपाल पार्टीका नेता–कार्यकर्तालाई रास्वपामा प्रवेश गराइयो,’ उहाँले गुनासो गर्नुभयो।

उहाँले आफूले प्रधानमन्त्री वा पार्टी अध्यक्ष कुनै पनि पद नचाहेको स्पष्ट पार्दै रास्वपाले उज्यालो नेपालको अभियानलाई पूर्ण रूपमा अवरुद्ध गर्दै ‘हामी नभए पनि अगाडि बढ्न सक्छौँ’ भन्ने सन्देश दिएको आरोप लगाउनुभयो। ‘आज म अत्यन्त मर्माहत भएको छु, यस्तो अवस्था आउला भन्ने लागेको थिएन,’ उहाँले भन्नुभयो।

घिसिङले पुस १४ गते सुधन गुरुङको पहलमा ‘जबरजस्ती मिल्नुपर्ने अवस्था’ आएपछि सहमति गरिएको दाबी गर्नुभयाे । उहाँहरूको भावना कदर गर्नकै लागि एकता स्वीकार गरिएको उहाँले स्पष्ट पार्नुभयो।

पत्रकार सम्मेलनमा उहाँले उज्यालो नेपाल पार्टीलाई आफ्नै नेतृत्वमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो। पार्टीले आगामी निर्वाचनमा १ सय ६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने, छोटो समयमै संगठन विस्तार र अभियान तीव्र बनाउने उहाँको घोषणा छ। साथै उज्यालो नेपाल पार्टी इच्छुक सबै दलसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो।

‘हामी एक हुन खोज्दा पनि जबरजस्ती बाहिर पारियौँ,’ घिसिङले भन्नुभयो, ‘अब एक्लै भए पनि उज्यालो नेपाल आफ्नै बाटोमा दृढतापूर्वक अघि बढ्छ।’