काठमाडौं, पुस २७ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोह भृकुटीमण्डपमा जारी छ। महाधिवेशनको उद्घाटन पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्नुभएको हो।
उद्घाटन समारोहमा विशेष महाधिवेशनको विपक्षमा उभिएका पार्टी सभापति शेरबहादुर देउवा तथा नेता डा. शेखर कोइरालानिकट नेताहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ। यसले महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको मतभेदबीच पनि सहभागिताको सन्देश दिएको छ।
सभापति देउवानिकट मानिने पूर्वउपसभापति गोपालमान श्रेष्ठसहित चुनावअघि विशेष महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि कार्यक्रममा सहभागी हुनुभएको छ। यस्तै, पूर्वसभामुख तारानाथ रानाभाटको समेत महाधिवेशनमा उपस्थिति रहेको छ।

डा. शेखर कोइरालानिकट नेताहरू चन्द्र भण्डारी, सुनिल शर्मा तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितका नेताहरू पनि महाधिवेशनमा सहभागी हुनुभएकाे छ। महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूले ‘अब पालो गगन–विश्व युग’ भन्ने नारासमेत लगाएका थिए।
भृकुटीमण्डप प्रतिनिधिहरूले खचाखच भरिएको छ। उद्घाटन समारोहमा देखिएको जनघनत्व र उत्साहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति प्रतिनिधिहरूको व्यापक समर्थन झल्काएको छ।













प्रतिक्रिया दिनुहोस्