जनता टाइम्स

२७ पुष २०८२, आईतवार १९:५४

 कांग्रेसकाे विशेष महाधिवेशनमा नेताहरू आउने–नआउने उहाँहरूको मर्जी, निर्णय गर्ने महाधिवेशन प्रतिनिधिकाे मर्जी : गगनकुमार थापा


 काठमाडौं, पुस २७ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीकाे विशेष महाधिवेशनको बन्दसत्रमा  पार्टी सभापति शेरबहादुर देउवा सहित पार्टीका शीर्ष नेताहरू उपस्थित हुने विश्वास व्यक्त गर्नुभएको छ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले सोमबार बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा नेताहरु उपस्थित हुने विश्वास व्यक्त गर्नुभयाे ।  उहाँले नेताहरूको सहभागिता उनीहरूको इच्छामा निर्भर रहने उल्लेख गर्दै अन्तिम निर्णय महाधिवेशन प्रतिनिधिहरूकै हातमा रहने स्पष्ट पार्नुभयो। ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो, ‘नेताहरू आउने–नआउने उहाँहरूको मर्जी हो, तर निर्णय गर्ने तपाईंहरूको मर्जी हाे।’

थापाले पार्टी सुधार र रूपान्तरणको प्रक्रियामा कठिन निर्णयका लागि तयार रहनुपर्ने धारणा राख्नुभयो। कहिलेकाहीँ लक्ष्य हासिल गर्न हार स्वीकार्न पनि तयार हुनुपर्ने उल्लेख गर्दै उहाँले आवश्यक परे आँफू त्याग गर्न पनि तयार रहेको बताउनुभयाे । ‘कहिलेकाहीँ ज्वाला जागृत गर्न आफैँ डढ्न पनि तयार हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनका लागि।’

कांग्रेस सही दिशामा उभिँदा मात्र देशप्रतिको जिम्मेवारी पूरा गर्न सकिने उहाँको भनाइ छ। विशेष महाधिवेशनलाई अवसर र चुनौती दुवैका रूपमा चित्रण गर्दै थापाले महाधिवेशन प्रतिनिधिहरूको भूमिकालाई निर्णायक भएकाे बताउनुभयाे। ‘भोलि बिहान ८ बजे हामी सबै जम्मा हुन्छौँ,’ उहाँले भन्नुभयो, ‘हलले जे स्थापना गर्छ, त्यही लागू हुन्छ, कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठूलो कुनै निकाय छैन।’

उहाँका अनुसार महाधिवेशनले आवश्यक ठानेमा नेतृत्व चयन, परिवर्तन तथा विधान संशोधनसमेत गर्ने पूर्ण अधिकार राख्छ।