जनता टाइम्स

२८ पुष २०८२, सोमबार ११:२७

अराजकता र विध्वंसका विरुद्ध आवाज उठाउनु दासता नभई स्वाभिमान र साहसको प्रतीक : शंकर  पोखरेल


काठमाडौं, पुस २८। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूराजनीतिक स्वार्थ, अराजकता र विध्वंसका विरुद्ध आवाज उठाउनु दासता नभई स्वाभिमान र साहसको प्रतीक भएको धारणा व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले भूराजनीतिक दबाबका सामु झुक्नु दासता हुने र त्यसको विरोध गर्नु स्वाभिमान भएको उल्लेख गर्नुभएको छ । उहाँले विध्वंस, अराजकता र आतङ्कका अगाडि नझुकी जनताको मनोबल उठाउनु नै वास्तविक साहस भएको बताउनुभएको छ ।

संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको अवस्थामा देशभर जनताको मन जलिरहेको बेला उत्सव मनाउने सोच उपयुक्त नहुने उहाँको भनाइ छ । ‘देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि दासजस्ता लाग्न सक्छन्,’ उहाँले लेख्नुभएको छ, ‘तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।’

महासचिव पोखरेलले ती ‘स्पार्टाकस’ हरूले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँको यो धारणा पछिल्लो राजनीतिक र भूराजनीतिक सन्दर्भप्रति लक्षित विश्लेषणका रूपमा हेरिएको छ ।