काठमाडौं, पुस २७। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव तथा नीतिगत सङ्कल्प प्रस्तुत गर्नु भएकाे छ । ‘कांग्रेस बदल्नका लागि, बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि’ भन्ने मूल नारासहित ल्याइएको प्रस्तावले पार्टी रूपान्तरण, संगठनात्मक गतिशीलता र जनविश्वास पुनःस्थापनालाई केन्द्रीय प्राथमिकतामा राखेको छ ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले इतिहासले नेपाली कांग्रेसलाई प्रत्येक चुनौतीपूर्ण घडीमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने पार्टीका रूपमा चिनाएको उल्लेख गरेका छन् । प्रस्तावमा पार्टीभित्र निष्ठा, उच्च नैतिकता र समर्पण पुनर्स्थापित गर्दै संगठनलाई ऊर्जावान्, न्यायपूर्ण र जनउत्तरदायी बनाउने सङ्कल्प व्यक्त गरिएको छ ।
थापाले विशेष महाधिवेशनलाई असाधारण परिस्थितिमा आएको ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्दै नेपाली कांग्रेसलाई लोकतन्त्रप्रति पूर्ण निष्ठावान्, समाजप्रति प्रतिबद्ध र जनताप्रति उत्तरदायी शक्तिका रूपमा पुनः स्थापित गर्ने जिम्मेवारी यसै महाधिवेशनले लिएको उल्लेख गर्नु भएकाे छ। पार्टीभित्र र बाहिर देखिएको उदासिनता हटाउँदै नवीन ऊर्जा, उत्साह, एकता र रूपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट हुनुपर्ने उहाँको प्रस्तावको सार छ ।
प्रस्तावमा ‘जेन–जी विद्रोह र कांग्रेसको सङ्कल्प’ शीर्षकअन्तर्गत २०८२ भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण ल्याएको उल्लेख छ । ती घटनाप्रति दुःख व्यक्त गर्दै दमन र हिंसाका क्रममा सहदत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान प्रकट गरिएको छ ।
महामन्त्री थापाले उक्त आन्दोलनले उठाएका सुशासन, सेवा प्रवाह सुधार, युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वलगायत मागहरूलाई कांग्रेसले आत्मसात गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, भदौ २३ को दमन र २४ को विध्वंसका क्रममा भएका मानव अधिकार उल्लङ्घन र हिंसात्मक घटनाको स्वतन्त्र तथा निष्पक्ष छानबिन गरी सत्य र न्याय स्थापित गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न कांग्रेस स्पष्ट र कटिबद्ध रहने प्रस्तावमा उल्लेख छ ।















प्रतिक्रिया दिनुहोस्