जनता टाइम्स

२८ पुष २०८२, सोमबार १६:२२

एमाले वाग्मती प्रदेशको चुनावी कार्यक्रम तय: माघ ४ मा २० हजारको प्रदर्शन, माघ ९ मा धुलिखेलमा १० हजार युवा सहभागीतामा  नेसनल भोलियन्टर फोर्स घोषणा सभा


काठमाडौं, पुस २८। नेकपा एमाले वाग्मती प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै वाग्मती प्रदेशभर सञ्चालन हुने विभिन्न संगठनात्मक तथा जनसम्पर्क कार्यक्रमहरूको विस्तृत कार्यतालिका तय गरेको छ ।

बैठकपछि सार्वजनिक गरिएको कार्यक्रमअनुसार  काठमाडौं प्रदेश कमिटी र वाग्मती सम्पर्क कमिटीको संयुक्त भेला आयोजना गरिने भएको छ । उक्त भेलाबाट निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएकाे एमालेले जनाएको छ ।

त्यसैगरी पुस २९ गते दिउँसो १ बजे सोही स्थानमा वाग्मती प्रदेशका सबै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएका उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ । उम्मेदवारहरूको तयारी, चुनावी रणनीति र सन्देशलाई एकरूपता दिने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम तय गरिएको बताइएको छ ।

पुस ३० गते बिहान ११ बजे काठमाडौंमा नै वाग्मती प्रदेश जनसंगठन संयन्त्रको बैठक बस्ने छ । बैठकमा जनसंगठनहरूको भूमिकालाई निर्वाचन अभियानसँग कसरी जोड्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । त्यही दिन दिउँसो १ बजे बागमती प्रदेशअन्तर्गत युवा संघ नेपाल, नेसनल भोलियन्टर फोर्स तथा अनेरास्ववियुका प्रदेश पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको संयुक्त बैठक आयोजना गरिएको छ ।

एमालेले माघ ४ गते काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित विशेष प्रदर्शन तथा सभा आयोजना गर्ने निर्णय पनि गरेको छ । पार्टीका अनुसार उक्त कार्यक्रममा करिब २० हजार जनताको सहभागिता रहने लक्ष्य राखिएको छ । यो प्रदर्शनलाई वाग्मती प्रदेशस्तरीय शक्ति प्रदर्शनका रूपमा लिइएको छ ।

त्यसैगरी माघ ९ गते दिउँसो १२ बजे काभ्रेको धुलिखेलमा नेसनल भोलियन्टर फोर्सको आयोजनामा वाग्मती प्रदेश घोषणा कार्यक्रम गर्ने निर्णय गरिएको छ । कार्यक्रममा करिब १० हजार युवाको सहभागिता रहने बताइएको छ । एमालेले उक्त कार्यक्रममार्फत युवा परिचालन र प्रदेशस्तरीय निर्वाचन अभियानलाई थप गति दिने तयारी गरेको छ ।

वाग्मती प्रदेश कमिटीले बैठकपछि जारी गरेको जानकारीमा आगामी दिनहरूमा निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र व्यापक जनसहभागितासहितका कार्यक्रमहरू निरन्तर अघि बढाइने जनाएको छ ।