रामेछाप, पुस २८ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा सञ्चालन गरिएको एकीकृत निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिकले गाउँमै स्वास्थ्य सेवा पाएका छन्।
अहिलेसम्म विशेषज्ञ स्वास्थ्य सेवा नलिएका दुर्गम बस्तीका नागरिकका लागि उक्त शिविर निकै फलदायी बनेको छ। भुजीस्थित कास्थेम माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको चार दिने स्वास्थ्य शिविरबाट तीन दिनमै एक हजार ३८ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।
आयोजक कादुरी एग्रीकल्चरल एड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल), पोखरा–१६ कास्कीका अनुसार पहिलो दिन शनिबार २ सय ९९ जना, दोस्रो दिन आइतबार २ सय ७६ जना र तेस्रो दिन सोमबार ३ सय ४२ जनाले उपचार तथा परामर्श सेवा लिएका हुन्। शिविरमा हालसम्म ६२ जनाको मोतीबिन्दु शल्यक्रिया गरिएको छ ।

उमाकुण्ड गाउँपालिकाको समन्वय तथा सहजीकरणमा सञ्चालित शिविरमा स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण, मोतीबिन्दु शल्यक्रिया, दन्त उपचारलगायतका सेवा प्रदान गरिएको छ।
दुर्गम गाउँमा स्वास्थ्य शिविर सञ्चालन हुँदा स्थानीयलाई रोगको पहिचान र समयमै उपचारमा सहयोग पुगेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्