जनता टाइम्स

३० पुष २०८२, बुधबार १८:५२

कांग्रेसकाे विभाजन लोकतन्त्रका लागि दुःखद र चिन्ताजनक : महेश बस्नेत


काठमाडौं, पुस ३०। नेकपा (एमाले) का सचिव महेश बस्नेतले लोकतन्त्र कमजोर बनेको र देश राजनीतिक अस्थिरता तथा अनिश्चितताको चरणमा रहेको संवेदनशील समयमा नेपाली कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद र चिन्ताजनक भएको बताउनुभएको छ।

उहाँले यस्तो संवेदनशील अवस्थामा लोकतन्त्रको मर्म जोगाउन सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने भए पनि कांग्रेसभित्रैबाट विभाजनको बाटो रोजिनु दुर्भाग्यपूर्ण भएको धारणा व्यक्त गर्नुभयो। सचिव बस्नेतले ‘लासहरूको पार्टी होइन कांग्रेस’ भन्ने अभिव्यक्ति दिँदै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने दिशामा धकेलेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार यस्ता अभिव्यक्तिहरूले पार्टीभित्रको अन्तरविरोधलाई अझ गहिरो बनाउँदै लोकतान्त्रिक आन्दोलनलाई नै कमजोर बनाउने खतरा पैदा गरेको छ।

उहाँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरंकुशताको आरोप खेप्नुपरे पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिकालाई अतुलनीय र प्रशंसनीय भएको बताउनुभयो। सचिव बस्नेतले बलियो एमाले र केपी ओलीजस्तो अभिभावकत्व, स्पष्ट नेतृत्व तथा पार्टीप्रतिको जिम्मेवारीको अभावकै कारण कांग्रेस विभाजनतर्फ धकेलिएको यथार्थलाई नजरअन्दाज गर्न नसकिने उल्लेख गर्नुभयो।

सचिव बस्नेतले लोकतन्त्र धरापमा परेको, असंवैधानिक अभ्यासहरू हावी हुँदै गएको र विदेशी चलखेलले देशको अस्तित्वसमेत संकटमा परिरहेको अवस्थाबीच कांग्रेसका प्रभावशाली नेताहरू गगन थापा र विश्वप्रकाश शर्माजस्ता व्यक्तिहरूको भूमिकाले परिस्थितिलाई सच्याउने हो वा अझ जटिल बनाउने हो भन्ने प्रश्न उठ्न थालेको बताउनुभयो।

उहाँले यस विषयको गम्भीर समीक्षा इतिहासले गर्ने नै उल्लेख गर्दै, जे भए पनि आज कांग्रेसभित्र घटेको यो अप्रत्याशित घटनाले लोकतन्त्रप्रेमी सबैलाई पीडा दिएको स्पष्ट पार्नुभयो।