जनता टाइम्स

१ माघ २०८२, बिहीबार १५:२५

रामेछापमा योग अभ्यासमार्फत मनाइयो राष्ट्रिय योग दिवस


रामेछाप, माघ १ । रामेछापमा यस वर्ष राष्ट्रिय योग दिवस प्रत्यक्ष योग अभ्यास गरेर मनाइएको छ ।

दिवस मूल समारोह समितिको आयाेजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछाप, पतञ्जली योग समिति रामेछाप तथा जीवन विज्ञान रामेछापको संयुक्त समन्वयमा  मन्थलीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा योग अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सिता को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई विभिन्न प्रकारका योग अभ्यास गराइएको थियो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति तथा जीवन विज्ञान रामेछापका साधक–साधिकाहरूले योगका विविध अभ्यास र विधिहरू सिकाउनुभएकाे थियाे ।

योग अभ्याससँगै आयोजित प्रवचन कार्यक्रममा वक्ताहरूले योग, ध्यान तथा प्राणायामको शारीरिक, मानसिक र आत्मिक महत्वबारे जानकारी गराउनुभएकाे थियाे । उहाँहरूले नियमित रूपमा योग अभ्यास गर्नाले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएकाे थियाे।