काठमाडौं, माघ ३। निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि कांग्रेस नेता शेरबहादुर देउवा पक्षले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
आज सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि जानकारी दिँदै देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले उपस्थित सङ्ख्याको समेत मूल्याङ्कन नगरी दूषित मनसायका साथ एकलौटी निर्णय गरेको आरोप लगाउनुभयो । ‘उपस्थित सङ्ख्या नहेरी विधिसम्मत प्रक्रिया बेवास्ता गर्दै गरिएको यो निर्णयले विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक रूपमा परिवर्तन गर्न खोजिएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यसले नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रकट गरेको छ।’
प्रवक्ता महतका अनुसार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयको कडा विरोध गर्दै कानुनी लडाइँ लड्ने निर्णय गरिएको छ । उहाँले भोलि नै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
निर्वाचन आयोगको पछिल्लो निर्णयपछि नेपाली कांग्रेसभित्र विवाद थप चर्किएको छ भने यसले पार्टीको आन्तरिक राजनीतिक समीकरणलाई थप जटिल बनाउने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्