काठमाडौं, माघ २ । गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक ढिलोगरी दिउँसो १ बजे अर्पण व्याङ्क्वेट, नयाँ बानेश्वरमा प्रारम्भ भएको हो ।
निर्वाचन आयोगबाट मान्यता पाएपछि बसेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हो । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले शनिबार साँझ आधिकारिक मान्यता दिएको थियो ।
बैठकमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयका साथै आसन्न प्रतिनिधिसभा निर्वाचनका तयारीबारे छलफल भइरहेको छ । कांग्रेस नेतृत्वले आन्तरिक एकता सुदृढ गर्दै संगठनलाई निर्वाचनमुखी बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यसैबीच फागुन २१ गते हुने निर्वाचनका लागि टिकट वितरण प्रक्रिया अघि बढाउन कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ । १३ सदस्यीय बोर्ड सभापति गगनकुमार थापाको नेतृत्वमा गठन गरिएको हो । बोर्डमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी तथा सदस्यहरू रहने व्यवस्था गरिएको छ ।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आजको बैठकमा संसदीय बोर्ड गठनसँगै फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर आवश्यक रणनीति र कार्ययोजनामाथि छलफल गरिएको पार्टी स्रोतले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्