जनता टाइम्स

३ माघ २०८२, शनिबार १४:४३

लिखु कोरिडोर सडक: आवागमन र पर्यटन दुवैका लागि रणनीतिक पूर्वाधार


रामेछाप, माघ ३ । रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका लिखु नदी किनारका बस्तीलाई तराई क्षेत्र र संघीय राजधानी काठमाडौंसँग जोड्ने लिखु कोरिडोर सडक निर्माणले गति लिएको छ । लिखु करिडाेरलाई मध्यपहाडी लोकमार्गमा जाेड्न यो सडकको स्तरोन्नति र कालोपत्रे कार्य अघि बढिरहेको छ ।

रामेछापको कोलञ्जोर घाटदेखि जिल्लाको हिमाली क्षेत्र गुम्देलसम्म करिब ५५ किलोमिटर लामो सडक खण्डमा चरणबद्ध रूपमा पिच र स्तरोन्नतिको काम भइरहेको छ । हालसम्म कोलञ्जोर घाटबाट करिब साढे पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने त्यहाँबाट साँघुटारसम्मको खण्डमा समेत काम अघि बढेको छ ।

साथै साँघुटारदेखि लर्खु खोलातर्फको सडक खण्डमा पनि स्तरोन्नति तथा कालोपत्रे कार्य सुरु गरिएको छ । निर्माण व्यवसायी भूपाल श्रेष्ठका अनुसार चालु आर्थिक वर्षभित्र करिब छ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।

लिखु कोरिडोर सडकले स्थानीय आवागमनलाई सहज बनाउनुका साथै धार्मिक र पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण भूमिका खेल्ने वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो सडक निर्माण भएपछि रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका ठूलो भूभाग प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

श्रेष्ठले यस सडकलाई आधार मानेर रामेछापका विभिन्न वडामा भित्री सडक सञ्जाल विस्तार गर्नसमेत सहज हुने उल्लेख गर्नुभयो । हिमाली क्षेत्रदेखि तराईसम्म जोड्ने दीर्घकालीन महत्त्व बोकेको यो सडक आर्थिक र सामाजिक विकासका लागि मेरुदण्ड सावित हुने उहाँको भनाइ छ । उमातिर्थ, पाँचपाेखरी, जटा पाेखरी र लिखुखाेलाका हइड्रो भ्रमणमा आउने पर्यटककाे लागि पनि याे सडक महत्वपूर्ण हुने उहाँले बताउनुभयाे ।

वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत निर्माणाधीन लिखु कोरिडोर सडकलाई छिटो सम्पन्न गर्न आफूले आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गर्नुभएको छ ।