जनता टाइम्स

३ माघ २०८२, शनिबार १५:२७

एमाले सचिवालय बैठक जारी, प्रतिनिध सभाका उम्मेदवार टुंग्याउने तयारी


काठमाडौं, माघ ३ । नेकपा (एमाले) को पार्टी केन्द्रीय सचिवालयको बैठक आज जारी रहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने मुख्य एजेन्डासहित बैठक बसिरहेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा निर्वाचनका लागि उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी गरिएको एमालेले जनाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय गरिएको छ ।

यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । ती सिफारिसमाथि विस्तृत छलफल गरी सचिवालय बैठकले अन्तिम निर्णय लिने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।