जनता टाइम्स

३ माघ २०८२, शनिबार १५:३९

नेपाली कांग्रेसकाे देउवा पक्षले जारी गर्याे यस्तो विज्ञप्ति 


काठमाडौं, माघ ३। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएको ठहर गर्दै त्यस विरुद्ध संवैधानिक, कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले २०८२ माघ २ गते गरेको निर्णयप्रति कडा आपत्ति जनाएको हो ।

बैठकले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगको निर्णयले संविधान, प्रचलित कानुन, राजनीतिक दलसम्बन्धी विवादमा आयोगकै विगतका नजिरहरू, तथा सभापति देउवाको नेतृत्वमा गरिएको पार्टीका निर्णयसम्बन्धी पत्राचार र प्रमाणहरूलाई बेवास्ता गरिएको आरोप लगाइएको छ । तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित सङ्ख्यासमेत नहेरी एकलौटी रूपमा निर्णय गरिएको भन्दै उक्त निर्णय दूषित मनसायबाट प्रेरित रहेको ठहर बैठकले गरेको छ ।

विज्ञप्तिमा देशकै ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गर्ने प्रयासले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने र लोकतान्त्रिक व्यवस्थामाथि नै आघात पुर्‍याउने षड्यन्त्रको अंश भएको दाबी गरिएको छ ।

बैठकले निर्वाचन आयोगको उक्त निर्णयको कडा विरोध गर्दै संवैधानिक तथा कानुनी उपचार खोज्ने र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ । यसैअनुसार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गरिएको छ ।

नेपाली कांग्रेसभित्र निर्वाचन आयोगको निर्णयलाई लिएर विवाद थप चर्किएको छ भने यसले पार्टीको आन्तरिक राजनीति र आगामी राजनीतिक गतिविधिमा गहिरो असर पार्ने देखिएको छ ।