काठमाडौं, माघ ४। नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सिट संख्याको प्रतिस्पर्धा मात्र नभई विचार, दृष्टिकोण र राजनीतिक दिशाको निर्णायक संघर्ष भएकाे बताउनुभएकाे छ । उहाँले पार्टी निर्णयपछि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण शक्ति, एकता र अनुशासित भएर आधिकारिक उम्मेदवारलाई जिताउनु नै कार्यकर्ताको साझा दायित्व भएको स्पष्ट पार्नुभएको छ ।
आफू यसपटक उम्मेदवारको प्रतिस्पर्धामा नरहेको उल्लेख गर्दै पोखरेलले सचेत, प्रतिबद्ध र अनुशासित कार्यकर्ताका रूपमा एमालेको वैचारिक यात्रामा उभिन पाउँदा गर्व महसुस गरेको बताउनुभएकाे छ। सचिवालय बैठकमा विभिन्न कोणबाट छलफल भए पनि एकाध क्षेत्र बाहेक फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले उम्मेदवार छनोट गरिसकेको उहाँले स्मरण गराउनुभएकाे छ ।
प्रत्यक्ष निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने पार्टी निर्णयलाई नेता पोखरेलले रणनीतिक विषय मात्र नभई एमालेको वैचारिक दृढता, आत्मनिर्भरता र जनतामाथिको अटुट विश्वासको स्पष्ट अभिव्यक्ति भएको बताउनुभएकाे छ । यही निर्णयका आधारमा पार्टी प्रतिस्पर्धारूपी वर्गसंघर्षमा दृढताका साथ होमिएको उहाँले उल्लेख गर्नुभएकाे छ। ‘यहाँ व्यक्तिभन्दा माथि पार्टी हुन्छ र आकृतिभन्दा माथि विचार,’ पोखरेलले भन्नुभएकाे छ, ‘उम्मेदवार मन परे वा नपरे, हामीले निर्माण गरेको पार्टीप्रति अल्झिनु एमालेको संस्कृति होइन ।’
सूर्य चिन्हप्रति विश्वास व्यक्त गर्दै उहाँले सो चिन्हले राष्ट्रको भविष्य उज्यालो बनाउने सामर्थ्य राख्ने दाबी गर्नुभएकाे छ। आजको संकटपूर्ण घडीमा पार्टीका प्रत्येक सदस्यको जिम्मेवारी स्पष्ट रहेको उल्लेख गर्दै पोखरेलले निर्णय नहुँदासम्म आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भए पनि निर्णय भइसकेपछि सम्पूर्ण शक्ति पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएकाे छ। ‘यही अनुशासन, यही एकता र यही वैचारिक प्रतिबद्धताले नेकपा एमाले सधैँ अगाडि बढ्दै आएको छ,’ उहाँको भनाइ छ ।
नेता पोखरेलले उम्मेदवार चयन प्रक्रियामा परेका सम्पूर्ण उम्मेदवारलाई बधाई दिँदै सफल, सशक्त र ऐतिहासिक निर्वाचन अभियानको शुभकामना व्यक्त गर्नुभएको छ । उम्मेदवारहरूको नेतृत्व, त्याग र जनताप्रतिको इमानदार प्रतिबद्धताले पार्टी मात्र नभई समग्र राष्ट्रलाई अझ बलियो बनाउने उहाँको विश्वास छ ।













प्रतिक्रिया दिनुहोस्